युरोकप : कुन टीम कस्ता छन् ?
काठमाडौं : कोभिड-१९ का कारण एक वर्षपछि धकेलिएको १६ औं युइएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप २०२०) का लागि सहभागी हुने टीमहरूको निधो भएको छ । अर्को वर्ष जुन ११ देखि जुलाई ११ सम्म युरोपका १२ सहरमा हुने प्रतियोगितामा २४ टीमहरू सहभागी हुनेछन् ।
स्कटल्यान्ड, हङगेरी, स्लोभाकिया र नर्थ म्यासिडोनिया आ-आफ्ना प्लेअफ खेलहरू जित्दै समूह चरणका लागि छनौट भएपछि, युरोको समिकरण पूर्ण भएको हो । युरोपको सर्वोच्च प्रतियागितामा भाग लिने २४ टीमलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समुहबाट दुई टीम अन्तिम सोह्रमा प्रवेश गर्नेछन् ।
समूह : ए
टर्की
इटली
वेल्स
स्विटजरल्यान्ड
खेल स्थल: रोम (इटली) र बाकु (अजरबैजान)
समूह-ए को पहिलो खेलमा इटली र टर्की भिड्नेछन् । जुन ११ मा रोममा हुने खेलमा इटली विजय हुने अनुमान गरिएको छ । प्रतियागितामा सर्मथकलाई प्रवेश गर्न दिइएको खण्डमा रोमको स्टाडियो ओलिमपिकोमा घरेलु सर्मथकको गर्जनले रोर्बटो मान्सिनीको टीमलाई साथ दिने नै छ ।
टर्कीले बाकुमा दुई खेल खेल्नेछ । टर्कीको अजरबैजानसँग भाषागत तथा सांस्कृतिक सम्बन्ध छ । त्यसकारण पनि बाकुमा टर्कीलाई अजरबैजानी सर्मथकले साथ दिनेछन् भन्ने अनुमान गर्न सकिन्छ । त्यसो त, टर्कीले छनौट चरण मै फ्रान्सलाई हराएको हुँदा उसलाई कमजोर आक्न मिल्दैन । समूह ए मै रहेको वेल्स आरोन राम्से र ग्यारेथ बेल जस्ता खेलाडीहरूले सुसज्जित छ ।
चार वर्षअघि युरोको अन्तिम चारसम्म पुगेको वेल्सलाई समूह ए को ‘डार्कहर्स’ का रुपमा पनि हेरिएको छ । समूह ए को अर्को टीम स्विटजरल्यान्डले छनौट चरणमा एक खेल मात्र हार्यो । प्रिमियर लिग खेलिरहेका फाबियन सार जस्ता खेलाडीले स्विस रक्षापंतिलाई बलियो बनाएका छन् । त्यसकारण समूह ए बाट अर्को चरणमा पुग्ने होड सबै टीमकालागि खुल्ला छ ।
समूह : बी
डेनमार्क
फिनल्यान्ड
बेल्जियम
रुस
खेल स्थल : कोपनहेगन (डेनमार्क) र सेन्ट पिर्टसबर्ग (रुस)
फिफा वरियातामा सबैभन्दा मथि रहेको बेल्जियमलाई स्वभाबिक रूपमा दोस्रो चरण पुग्ने टीमका रूपमा हेरिएको छ । एडेन हार्जड, केभिन डे बु्रना र रोमेलु लुकाकु लगायतका आक्रमक खेलाडीले भरिएको बेल्जियम समूहका अरु टीममाथि हावी हुनेछ । त्यसकारण पनि समूहको दोस्रो स्थानका लागि हुने प्रतिस्पर्धा रोचक बन्नेछ । घरेलु भूमिमा भएको सन् २०१८ को विश्वकपमा रुसले प्रभावशाली प्रर्दशन गरेको थियो । त्यसकारण, सेन्ट पिर्टसबर्गमा हुने अर्को महत्वपूर्ण प्रतियोगितामा रुस पुन: घरेलु सर्मथकको साथले आत्मविश्वासी हुनेछ ।
तर छनौट चरणमा कुनै खेल नहारेको डेनमार्कलाई उसको घरेलु मैदानमा हराउन समूह बी का अरु टीमहरूलाई सजिलो भने हुने छैन । यता मैत्रीपूर्ण खेलमा विश्वविजेता फ्रान्सलाई हराएर कुनै पनि टीम विरुद्ध अनपेक्षित नतिजा निकाल्न सक्षम रहेको सन्देश दिइसकेको फिनल्यान्ड समूहको ‘अन्डरडग’ हो ।
समूह : सी
नेदरल्यान्ड्स
युक्रेन
अस्ट्रिया
नर्थ म्यासिडोनिया
खेल स्थल: आम्सटरड्याम (नेदरल्यानड्स) र बुकारेस्ट (रोमानिया)
गएको विश्वकपमा छनौट हुन असफल नेदल्यान्ड्सले रोनाल्ड कुमन प्रशिक्षक बनेर आएपछि बलियो लय समात्यो । कुमन बार्सिलोना लागेपछि, उनको स्थानमा आइपुगे फ्रान्क डी बुर । तर आयाक्स र इन्टर मिलानका पूर्व प्रशिक्षकले जिम्मेवारी सम्हालेपछि नेदरल्यान्ड्सले एउटा खेल पनि जित्न सकेको छैन् । त्यसकारण पनि यो समुहबाट कमसेकम तीन टीम अर्को चरणमा पुग्न बलियो दाबेदार हुन् ।
युक्रेनले पछिल्लो समयमा अनेपेक्षित नतिजाहरू निकालेको छ । उसले छनौट चरणमा आफुभन्दा निकै बलियो रहेको पोर्चुगललाई हरायो । त्यस्तै मैत्रीपूर्ण खेलमा स्पेनलाई हारको स्वाद चखायो । त्यसकारण, आन्दे« सेभचेन्कोको नेतृत्वमा रहेको युक्रेनले युरोमा आफ्नो स्तरभन्दा मथिको खेल नखेल्ला भन्न सकिँदैन ।
समूह सी कै अर्को सदस्य अस्ट्रियाले अहिलेसम्म युरो कपको सुरुवाती चरण पार गर्न सकेको छैन । बार्यन म्युनिखबाट खेलिरहेका डेभिड अलाबा अस्ट्रियाका मूख्य हतियार हुन् । नर्थ म्यासिडोनियालाई हराउने र अरु टीम बिरुद्ध कमसेकम बराबरी गर्न सके अस्ट्रियाको अर्को चरण प्रवेश सम्भावना जिवित रहनेछ । उता नर्थ म्यासिडोनिया युरोमा पहिलो पटक छनौट भएको हो । त्यसकारण पनि नर्थ म्यासिडोनियालाई समूह कै सबैभन्दा कमजोर टीमका रुपमा हेरिएको छ ।
समूह : डी
इगंल्यान्ड
क्रोएसिया
स्कटल्यान्ड
चेक रिपब्लिक
खेल स्थल: लन्डन (इगंल्यान्ड) र ग्लासगो (स्कटल्यान्ड)
इंगल्यान्ड समूह डी मा सबैभन्दा बलियो टीमका रुपमा देखा परेको छ । इंगल्यान्डले समूह चरणका सम्पूर्ण खेलहरू घरेलु मैदानमा वेम्बलीमा खेल्नेछ । घरेलु सर्मथकको साथले इंगल्यान्डका प्रिमियर लिग स्टारहरूले प्रभावशाली प्रर्दशन गर्ने अपेक्षा लिइएको छ । सन् २०१८ को विश्वकप सेमिफाइनलमा इंगल्यान्डलाई हराएको क्रोएसिया समूह डी को अर्को बलियो टीम हो ।
समूह डी मै रहेको स्कटल्यान्ड सन् १९९८ पछि पहिलो पटक मूख्य प्रतियोगितामा छनौट भएको हो । उता चेक रिपब्लिकलाई समूह कै कमजोर टीमका रूपमा हेरिएको छ ।
समूह : ई
स्पेन
स्विडेन
पोल्यान्ड
स्लोभाकिया
खेल स्थान : बिलबाओ (स्पेन) र डब्लिन (रिपब्लिक अफ आयरल्यान्ड)
सन् २००८ को युरो कप विजेता स्पेन समूह ई को सबैभन्दा बलियो टीम हो । तर पछिल्ला साताहरूमा स्पेनको लय खस्केको छ । लुइस एनरिके नेतृत्वको स्पेनले खेलेका पछिल्ला चार खेलमा एउटामा मात्र जित दर्ता गरेको छ । तर स्पेनले खेल्ने समूह चरणका सम्पूर्ण खेलहरू घरेलु मैदानमा हुने भएकाले विश्वकप विजेतालाई पक्कै केही सहज हुनेछ ।
स्पेनको हालको लयमा प्रश्न उठाउने ठाउँ रहे पनि टीमका युवा प्रतिभा तथा पाका खेलाडीहरू भने जुनसुकै निर्णयक खेल जित्ने हैसियत राख्छन् । रुसमा सम्पन्न विश्वकपमा बिर्सनलायकको प्रर्दशन गरेको स्पेनले युरोका लागि भने बलियो रुपमा तयार हुने अपेक्षा राख्न सकिन्छ ।
यस समूहमा पहिलो स्थानका लागि मात्र नभएर दोस्रोका लागि पनि उत्तिकै कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्यसका लागि स्विडेन र पोल्यान्ड तयार देखिन्छन् । छनौट चरणमा पोल्यान्डले पाँच अंक मात्र गुमायो । रोर्बट लेवेन्डोस्कीको आक्रमकताको सहयोगले पोल्यान्डले स्पेनलाई स्तब्ध बनाउन सक्छ । स्विडेन र स्लोभाकिया मध्ये समूहमा कुन टीम ‘अन्डरडग’ का रुपमा रहने भन्ने प्रतिस्पर्धामा हुनेछन् ।
समूह : एफ
हङगेरी
पोर्चुगल
फ्रान्स
जर्मनी
खेल स्थल: म्युनिख (जर्मनी) र बुडापेस्ट (हङगेरी)
आसन्न युरोको सबैभन्दा प्रतिस्पर्धात्मक समूहका रुपमा एफलाई मान्न सकिन्छ । यस समूहमा रहेका कुनैपनि टीमको ब्याख्या जरुरी छैन् । योकिम लोको प्रशिक्षणमा रहेको जर्मनीले गत विश्वकपमा समूह चरणसम्म पार गर्न सकेन । बिर्सन लायकको विश्वकपपछि जर्मनीले आफ्नो टीममा ब्यापक परिवर्तन गरेको छ । प्रशिक्षक लोले नयाँ अनुहारहरूलाई मौका दिइरहेका छन् भने सन् २०१४ को विश्वकप जित्दा महत्वपूर्ण रहेका खेलाडीहरूलाई टीमबाट बिदा दिएका छन् ।
त्यस्तै विश्वविजेता फ्रान्स स्वभाबिक रुपमा यस प्रतियोगिताको बलियो दाबेदार हो । किलियान एमबाप्पे, एन्टोइन ग्रिजमन र पउल पोग्बाले सज्जित फ्रेन्च टोली पक्कै पनि यसपटकको युरो जित्ने दाउमा छ । धेरै भन्दा धेरै विश्वस्तरिय खेलाडीहरू उत्पादन गरेको फ्रान्सले युरोकालागि टीम छान्नु कम टाउको दुखाइको विषय होईन ।
उता पोर्चुगलका लागि फेरी पनि क्रिस्टियानो रोनाल्डो नै प्रमुख हतियार बन्नेछन् । तर उनको बोझ हल्का पार्न जोवाओ फिलिक्स र डिएगो जोटा जस्ता युवा प्रतिभाहरू तयार छन् । प्लेअफमा आइसल्यान्डलाई नाटकिय रूपमा हराउँदै आसन्न युरोमा स्थान बनाउन सफल हङगेरीका लागि महादेशिय प्रतियोगितामा छनौट हुनु नै ठूलो सफलता हो । त्यसकारण, युरोका लागि उसको ठूलो लक्ष्य छैन । सन् २०१६ को युरोमा पोर्चुगललाई ३-३ को बराबरीमा रोकेको हङगेरीले फेरी पनि त्यस्तै नतिजा निकाल्ने सपना भने बुनेको हुनुपर्छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यहरूको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया