खेलकुद

नेपाल सुपर लिग : रन्जनको गोलले ललितपुरको उद्दार, धनगढी शीर्षस्थानमा पुग्‍नबाट बञ्चित

इकागज |
बैशाख १६, २०७८ बिहीबार २०:८ बजे

काठमाडौँ: पेनाल्टीमा चुके पनि ललितपर एफसीले नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार धनगढी एफसीसँग एक अंक खोसेको छ । एक गोलले पछाडि परिसकेको अवस्थामा ललितपुरले धनगढीलाई बराबरीमा रोकेको हो । 

दशरथ रंगशालामा भएको खेलमा सुरुवाती गोल गर्‍यो धनगढीले । ७२ औँ मिनेटमा ओलावाले अफिजले हेडर गोल गरे । धनगढीका प्लेमेकर विशाल राईले प्रहार गरेको कर्नर किकबाट आएको बललाई ललितपुरका अर्पण कार्कीले पन्च गरे । अर्पणले पन्च गरेको बललाई अशोक खवासले नियन्त्रणमा लिँदै गरेको प्रहारलाई अन्जन विष्टले ब्लक गरे । तर अन्जनले क्लियर गर्न नसकेको बललाई अफिजले हेडरमार्फत जाली चुमाए । 


एनएसएलमा दोस्रो जिततर्फ अघि बढेको धनगढीको खुशी धेरै बेर टिकेन । ७५ औँ मिनेटमा मैदानमा प्रवेश गरेका ललितपुरका स्ट्राइकर रन्जन विष्टले ७८ औँ मिनेटमा खेललाई बराबरीमा ल्याए । 

त्यसअघि ४४ औँ मिनेटमा ललितपुरका नुर्लान नोभरुजोभ जाहिद पेनाल्टीमा चुकेका थिए । जारी एनएसएलमा ललितपुर पेनाल्टीमा चुकेको यो दोस्रो पटक हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरका अन्जन विष्ट काठमाडौँ रेजर्सविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए । 

बिहीबारको बराबरीले दुबै टिमलाई घाटा भएको छ । यसअघि दुई खेलमध्ये एकमा जित दर्ता गरेको धनगढी बिहीबारको खेलमा पनि विजयी भएको भए अंक तालिकाको शीर्षस्थानमा पुग्ने थियो । बराबरीसँगै धनगढी चार अंकका साथ दोस्रो स्थानमा छ । ललितपुर भने तीन खेलबाट दुई अंक बटुल्दै सात टिम सम्मिलित एनएसएलको पुच्छारमा छ ।   
 


Author

थप समाचार
x