खेलकुद

यसरी बन्यो आहारारा पोखरा गोल्डकपको ट्रफी

धनबहादुर गुरुङ |
पुस २३, २०७९ शनिबार १३:७ बजे

पोखरा । मोफसलमा हुने फुटबल प्रतियोगिता मध्ये चर्चामा रहने टुर्नामेन्ट हो, सहारा क्लब पोखराले वर्षेनि आयोजना गर्ने आहारारा पोखरा गोल्डकप । क्याराभान गोल्डकप हुँदै सुरु भएको यो आहा, आहारारा हुँदै २२ औं संस्करणमा आईपुग्दा नाम बदलेर आहारारा पोखरा गोल्डकप भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृत लिएर मोफसलमा खेलाइने प्रतियोगितामा प्रदान गरिने सिल्डमध्ये भिन्नखालको छ– आहारारा पोखरा गोल्डकप ट्रफी । आयोजक सहाराले निक्कै सुझबुझ ढंगबाट तयार पारेको हो, यसलाई । यसको श्रेय संस्थापक अध्यक्ष वसन्त थकाली र उनको तत्कालीन टिमलाई जान्छ । 


झट्ट हेर्दा माछाको आकृति । त्यही माछाको शिरमा फुटबल । अझ नियालेर हेर्दा तलपट्टि हरेक वर्ष जित्ने टिमको नाम र उपाधि चुमेको वर्ष । अझ गहिरिएर हेर्दा माछाको मुखमा राखिएको रिबन । ट्रफीको यही आवरणले धेरैको ध्यान खिचेको छ ।

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ पवित्र उद्देश्य राखि २०५५ सालमा स्थापित क्लबले सामाजिक सेवासँगै फुटबल पनि खेल्न सुरु गर्‍यो । सुरुमा क्याराभान गोल्डकप खेलाउने भयो । प्रतियोगिता मिति तोकियो, २०५८ फागुन ७ देखि २० सम्म । साहारा क्लबको तत्कालीन टिम तयारीमा जुट्यो । सबै भौतिक तयारीमा जुट्दा यता संस्थापक अध्यक्ष भने ट्रफी कस्तो बनाउने भन्नेमा दिमाख खियाउन थाले । 

उनको दिमागमा झट्ट पोखरा र लेखनाथमा भएको तालको चित्र आयो । ताललाई ट्रफीमा प्रतिनिधित्व गराउने योजना बनाए । सिधैं तालभन्दा पनि तालको माछा बनाउन सहज ठाने । सो समयमा मिठो माछा खान परेमा धेरैले पोखरा रोज्थे । मर्दी र इदीको असला साथै पोखराको सहर माछा पोखराको कोशेली बनेको अवस्था थियो । ‘पोखरा तालै तालको सहर, कसैले मीठो माछा खान परेमा वा पोखराबाट कोशेली लैजानु परेमा माछा नै रोज्थे,’ उनले भने, ‘त्यसैले ताल र माछा नै दिमागमा आयो ।’ माछाको सहरमा फुटबल खेलाउँदा यसको प्रतीक छुटाउनु हुँदैन भनी एक खालको चित्र कोरे । माछा भनेको शुभ कार्यमा प्रयोग हुने शुभचिन्ह हो भन्ने मान्यतामा आधारित रहेर आफूहरुको सुरु गर्न लागेको कार्य पनि शुभ होस् भनी टिममा छलफल गरे । तत्कालीन कार्यसमितिले हो मा हो मिलाए । उनको टिमले फुटबलको सहरमा माछाले पनि फुटबल खेल्छ भन्ने सन्देश दिन पनि यसको जरुरी ठान्यो ।

दिमागी चित्र भौतिक रुपमै उतार्न सबैभन्दा पहिला कागजमा कोरिनुपर्‍यो । त्यसैका लागि सम्झिए–कवि तथा चित्रकार रमेश श्रेष्ठलाई । मनको चित्र पानामा उतार्न संस्थापक महासचिव पूर्णबहादुर गुरुङलाई लिएर थकाली हानिए, कवि श्रेष्ठको अफिसतर्फ । थकालीको कन्सेप्टसँग श्रेष्ठको विचार पनि मिल्यो । माछा स्वतन्त्रताको प्रतीक भएकाले त्यसैलाई कपमा राख्ने सुझाव दिएको कवि श्रेष्ठले बताए । ‘माछा भनेको स्वतन्त्रताको प्रतीक हो, खोलानाला समुन्द्र हुँदै माछा जता पनि जान सक्छ,’ उनले भने, ‘पोखराको पनि प्रतिनिधित्व हुने अनि स्वतन्त्रताको प्रतीक पनि हुने भनेर त्यही डिजाइन गरेको हुँ ।’ उनको डिजाइनमा सहर माछालाई अंग्रेजी अक्षर ‘एस’ को आकार दिइयो । त्यो ‘एस’ले सहारा क्लबको प्रतिनिधित्व गर्ने अध्यक्ष थकालीले बताए । त्यो बेला फेवातालको सहर माछा चल्तीमा भएको र आकार दिन पनि सहज भएकाले सहर माछा छनोटमा परेको उनले बताए । उनले कागजमा उतारेर ट्रफीको आकार बनाए । तर त्यसलाई भौतिक रुप दिन पर्‍यो ।

आकार दिनका लागि भने टोली २०५८ पुसमा काठमाडौं लाग्यो । काठमाडौं त्रिपुरेश्वरमा उनीहरुको भेट विकास न्यौपानेसँग भयो । उनै विकासले आकृति भरे । अनि तयार भयो, माछाको प्रतिमा माथि फुटबलसहितको कप । करिब १ महिना लगाएर बनाएको सिल्ड केही सानो थियो । क्याराभान गोल्डकप पनि सहाराले तामझामका साथ सकायो । ट्रफी लिएर क्याराभान गोल्डकपको विजेता टिम काठमाडौं फर्कियो ।

अर्को वर्ष फेरि गोल्डकप गर्ने समय आयो । तर प्रायोजक श्री डिस्ट्रिलरीले प्रतियोगिता काठमाडौंमा गर्नुपर्ने बाध्यकारी नियम बनायो । पोखरा चिनाउन र पोखरामा खेलकुद गतिविधि चलायमान बनाउन सुरु गरिएको प्रतियोगिता काठमाडौंमा नगर्ने भन्दै साहाराले हात झिक्यो । सुरु भएको प्रतियोगिता बीचमै छाड्न चाहेन साहाराले । त्यो समयमा हिमश्री फुड्सले प्रतियोगिता गर्न साथ दिएको थकालीले बताए ।

हिमश्री फुड्सको उत्पादित आहा चाउचाउबाट गोल्डकप खेलाउन १० वर्षसम्मका लागि २ प्रत्येक वर्ष २ लाख प्रायोजन सहमति भयो । ५ लाखको प्रायोजक २ लाखमा झर्दा पनि पोखरामै प्रतियोगिता गर्ने साहाराले अठोट गर्‍यो । अनि सुरु भयो–‘आहा गोल्डकप २०५९’। त्यो बेलासम्म सहारा युके क्लबसँग जोडिसकेको थियो । युकेबाट आउने आर्थिक सहयोगले पनि केही सहयोग मिलेको उनले बताए ।

आहा गोल्डकपमा क्लबले ट्रफीको साइज केही बढाउने सोच बनायो । फेरि काठमाडौं गयो । त्यो समयमा सुरुका डिजाइनर विकासले व्यवसाय छाडिसकेका थिए । उनका साथी अनुज प्रधानलाई भेटेर थकालीले सोही आकारमा ट्रफीको साइज बढाउन लगाए । ‘उहाँले सोही आकारमा ट्रफीको साइज बढाइदिनुभयो,’ उनले भने, ‘अहिलेसम्म त्यही कप हामीले प्रयोग गरिरहेका छौं ।’ अहिलेसम्म हिमश्री फुड्सले पनि साहारालाई प्रायोजन गरिरहेको उनको भनाइ छ । 

लगातार ३ पटक उपाधि जित्दा ट्रफी सोही क्लबले राख्न पाउने नियम छ । आहाराराको इतिहासमा नेपाल पुलिस क्लबले बाहेक अरुले लगातार ३ पटक जित्न सकेका छैन । छैटौं, सातौं र आठौं संस्करणको उपाधि लगातार जितेको पुलिसले उक्त ट्रफी साहारालाई नै फिर्ता गरेको क्लब पूर्व अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए । ‘रनिङ सिल्ड भनेपछि लगातार जितेको टिमले राख्न पाउने हो,’ उनले भने, ‘३ पटक जिते पनि उहाँहरुले पनि नराखी हामीलाई नै फिर्ता दिनुभयो ।’

हरेक वर्ष उपाधि जित्ने टिमले केही महिना राखेपछि क्लबलाई नै ट्रफी फिर्ता गर्ने आचार्यले बताए । क्लबले उपाधि विजेतालाई नमुनाका रुपमा अर्को ट्रफी दिने गरेको छ । क्लबले च्याम्पियनको सम्मानका लागि ट्रफीको तलतिर टिमको नाम र वर्ष उल्लेख गर्ने गरेको छ । यस्तै माछाको मुखमा सोही टिमको जर्सीलाई प्रतिनिधित्व गर्ने रंगको रिबन राख्ने गरिएको छ ।

यही ट्रफीका लागि २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपमा नेपालको संकटा फुटबल क्लब र अमेरिकाको भुटनीज युथ स्पोर्ट्स क्लबबीच शनिबार पोखरा रंगशालामा फाइनल खेल हुँदैछ ।
 


Author

थप समाचार
x