खेलकुद

सागकी स्वर्ण विजेता सन्तोषीलाई कखराको सम्मान

इकागज |
पुस २३, २०७९ शनिबार १५:२७ बजे

काठमाडौँ- कखरा प्रि स्कुलले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफ्नो वार्षिक खेलकुद दिवसको अवसरमा धाविका सन्तोषीलाई सम्मान गरेको हो ।

धादिङकी सन्तोषीले नेपालमै भएको १३ औँ सागको एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । कखराले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा यसअघि सागका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर तथा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई सम्मान गरेको थियो ।


कखराका प्रबन्ध संचालक उमानाथ निरौला र कखराकी प्रिन्सिपल निशा घिमिरेले सन्तोषीलाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।

सम्मानित सन्तोषीले कखराद्वारा आयोजित खेलकुद प्रतियोगिताहरूमा सहभागी बालबालिकाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

कखराकी प्रिन्सिपल घिमिरेले खेलकुदको माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, ईमान र प्रसिद्धिले कलिला बालबालिकाहरूलाई पनि खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौसला पुग्ने विश्वास व्यक्त गरिन् ।

कखराका प्रबन्ध संचालक निरौलाले बालबालिकामा कुनै न कुनै खेलकुद प्रतिको रुचि र प्रतिभा ७ वर्ष उमेर पूरा हुनुअघि नै विकसित हुने भएकाले कखराले बालबालिकाको रुचि र प्रतिभालाई समयमै पहिचान गरी सोही अनुसार विभिन्न खेलकुद क्रियाकलापहरूमा सहभागी गराउने गरेको जानकारी दिए ।

कखराका अभिभावक, शिक्षक, शिक्षिका र कर्मचारीलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा बालबालिकाहरूले रोमाञ्चक खेलहरू प्रदर्शन गरेका थिए ।


Author

थप समाचार
x