संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि
पोखरा । संकटा फुटबल क्लब २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ स्पार्ट्स क्लबलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि रक्षा गरेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि अतिरिक्त समयमा धकेलिएको खेलमा संकटाका कप्तान सुनिल बल गोल गरेपछि संकटा उपाधि चुमेको हो ।
निर्धारित समयको आठौं मिनेटमा सुरज ज्यु ठकुरीको गोल बाट संकटाले अग्रता लिएको थियो । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । तर, त्यो पछि भुटनीज क्लबले उत्कृष्ट कमब्याक गर्दै खेल बराबरीमा ल्यायो ।
खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिसले गोल गर्दै २–२ बनाए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल २–२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले विजयी गोल गरे । फाइनल खेलमा संकटाका मेसुके ओलुमोउ म्यान अफ दी म्याच भए ।
उपाधिसँगै संकटाले १२ लाख रुपैयाँ नगदसहित सिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख रुपैयाँमा चित्त बुझायो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङसहितले पुरस्कृत गरे ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
सुनिल बल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी
संकटा क्लबका कप्तान सुनिल बल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका छन् । सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे ।
व्यक्तिगत अवार्डमा पनि संकटाकै खेलाडीको दबदबा रह्यो । भुटनीज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षकको पुरस्कार प्राप्त गर्दा अन्य विधामा संकटाका खेलाडी अघि रहे । उत्कृष्ट गोलकिपर टिकेन्द्र थापा, उत्कृष्ट मिडफिल्डर आयुष घलान, उत्कृष्ट फरवार्ड स्टेफन बिनोङ, उच्चकर्ता मेसुके ओलेमोउ र उत्कृष्ट प्रशिक्षक सल्याण खड्की चुनिए । उनीहरुले जनही २५÷२५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । धरान एफसी फेयर प्ले टोलीको अवार्ड प्राप्त गर्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया