बलियो लयमा फर्किएका पृथ्वी श
काठमाडौँ: भारतले अस्ट्रेलियाको भ्रमण गर्दा, पृथ्वी शले उल्लेखिय प्रदर्शन गर्न सकेनन् । जसका कारण उनको आलोचना भयो । त्यसपछि विजय हजारे ट्रफीको फाइनलमा उनले गज्जबको खेले । मुम्बईको कप्तानी गरेका शले उत्तर प्रदेशविरुद्धको फाइनलमा ३९ बलमा ७३ रन बनाए । त्यसयता शको विष्फोटक ब्याटिङले निरन्तरता पाएको छ ।
इन्डियन प्रिमियर लिग (आइपीएल) मा पनि उनले बलियो लय देखाएका छन् । शले कोलकाता नाइट राइडर्ससँगको खेलमा ४१ बलमा ८२ रन बनाए भने रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १८ बलमा २१ रन प्रहार गरे । त्यस्तै उनले सनराइजर्स हैदरावादसँगको खेलमा ३९ बल सामना गर्दा ५३ रन बनाए । दुई महिनामा शले आठ ‘ए¬’ र सात आइपीएल खेलमा गरी एक हजार भन्दा बढी रन बनाएका छन् ।
दिल्ली क्यापिटल्सले आइपीएलमा यस सिजन पहिलो खेल चेन्नाई सुपर किंग्सविरुद्ध खेल्यो । शले ३८ बलमा ७२ बनाएपछि ड्रेसिङ रुममा उनलाई सोधियो, ‘यस किसिमको ब्याटिङ पहिले गरेका थियौँ ?’ उनलाई प्रश्न गरेका थिए दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले । प्रशन सोध्ने पोन्टिङले सञ्चार माध्यममा प्रतिक्रिया पनि दिए, ‘आइपीएल करियरमा शले अहिले सम्मकै राम्रो ब्याटिङ गरे’ । तर पोन्टिङले आफ्नो विचार परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । किनभने शले कोलकाताविरुद्ध ४१ बलमा ८२ रन बनाए । जुन चेन्नाईसँगको खेलमा देखाएको जस्तै उत्कृष्ट ब्याटिङ थियो ।
कोलकातासँगको खेल शका लागि गज्जबको संयोग थियो । भारतीय अण्डर–१९ टिममा सँगै खेलेका शिवम माभी उनका प्रतिद्वन्द्वी थिए । जसका विरुद्ध शले एकै ओभरमा २५ रन हिर्काए । ‘शिभम कुन स्तरका बलर हुन भन्ने मलाई पहिल्यै थाहा थियो । किनभने हामी दुईले करिब पाँच वर्षसँगै खेलेका थियौँ । अनि उनले कुन दिशामा बल फ्याक्छन् भन्ने अनुमान गरेको थिए । त्यसकारण म उनको सामना गर्न तयार थिए,’ कोलकातासँगको खेलपछि शको प्रतिक्रिया थियो ।
शको ब्याटिङले कोलकाताका प्रशिक्षक ब्रेन्डन म्याककुलम पनि अवाक् भए । ‘श मानसिक रुपमा बलिया छन् । उनले जसरी ब्याटिङ गरे, त्यो स्तरको ब्याटिङ धेरै कम ब्याट्सम्यानले मात्रै गर्न सक्छन् । उनी जस्ता खेलाडीलाई मौका दिएकोमा पृथ्वी श, पोन्टिङ र दिल्ली टिम व्यवस्थापनलाई धन्यवाद दिनुपर्छ,’ म्याककुलमले भने ।
हाल शले देखाइरहेको लयको पछाडि मेहेनत लुकेको छ । अस्ट्रेलिया भ्रमणबाट फर्केपछि श प्रविन आम्रेसँग कयौँ अभ्यास सेसनमा व्यस्त रहे । आम्रेसँगको अभ्यासले आफूलाई बलियो बनाएको मान्छन्, श । आम्रेको प्रशिक्षण बाहेक शलाई उनको पिताको समर्थनले पनि हौसला दिएको छ । ‘मेरो पिताको समर्थनले महत्वपूर्ण भूमिका खेलेको छ । उहाँले मलाई मेहेनत गर्न हौसला दिनुहुन्छ । खेलमा प्रतिभाले मात्रै अघि बढिदैँन । मेहेनत पनि गर्नुपर्छ । करियर दौरान सामना गरेको असफलताले पनि मलाई बलियो बनाएको छ,’ श भन्छन् ।
क्रिकेटमा ब्याट्सम्यान सफल भन्दा बढी असफल हुन्छन् । टी-ट्वान्टीमा ब्याट्सम्यानलाई सफल हुन झनै कठिन छ । अहिले श सफल देखिएका छन् । सफलता र असफतालताबीच सन्तुलन कायम गर्न सके भने शको यात्रा लामो र गर्व गर्न लायकको रहनेछ ।
इएसपीएन क्रिक इन्फोबाट
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया