हेल्प नेपाल समूह विजेता
काठमाडौँ- टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । क्वाटरफाइनल प्रवेश गरी सकेको समूह डी मा रहेको हेल्प नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ समूह विजेता बनेको हो । आज भएका खेलमा हेल्प नेपालले मधेस प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गरेको हो ।
यस्तै सोही समूहबाट समूह उपविजेताका रूपमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्र क्वाटरफाइनल प्रवेश गरेको छ । तीन खेलमा २ जित र एक हार ब्यहोरेको केशवलाल स्मृतीको ६ अंक रहेको छ । आज भएको खेलमा केशवलाल स्मृतीले बुढानिलकण्ठ भलिबल क्लबलाई २७–२५, २५–१८ र २५–१६ ले पराजित गरेको हो ।
समूह सी तर्फ गण्डकी प्रदेश समूह उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । गण्डकीले तीन खेलमा दुई खेल जित्दै ६ अंकका साथ क्वाटरफाइनल यात्रा तय गरेको हो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–९ र २५–१० ले पराजित गर्न सफल भएको हो । यस समूहमा तीनै खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब टिम विजेता बनिसकेको छ ।
यस्तै महिला तर्फको समूह ए को खेलमा समूह विजेता र उपविजेताको छिनोफानोका लागि भएको प्रतिस्पर्धामा पुलिसले विजेताको उपाधि हात पार्यो । आज सम्पन्न खेलमा साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो । पुलिसले न्यू डायमण्डलाई २५ २२, २२–२५, २५–१४, २३–२५ र १५–१० को संघर्षपूर्ण जित निकालेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला समूह बी को खेलमा एपिएफले वियय प्राप्त गरेको छ । एपिएफको यो लगातार दोश्रो जित हो । पहिलो खेलमा गण्डकी प्रदेशलाई जितेको एपिएफले आज कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–४, २५–६ र २५–३ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । अब समूह विजेता र उपविजेताको टुङ्गो भोलि आयोजना हुने सेना र एपिएफको प्रतिस्पर्धाबाट लाग्ने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया