तीन विभागीय टोली सेमिफाइनलमा
काठमाडौँ- तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।
आज भएको क्वाटरफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोश्रो सेट २१–२५ ले गण्डकीलाई सुम्प्यो । तेश्रो सेट २५–१० ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले चौथो सेट संघर्षपूर्ण खेलमा २६–२४ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अर्को विभागीय टोली एपिएफ पनि बागमतीको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । एपिएफले केशवलाललाई २५–१४, २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएको हो ।
यसैगरी अर्को विभागीय टोली नेपाल पुलिसले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पुलिसले भारतीय खेलाडी सम्मिलित दावाँली मिलन केन्द्रलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला तर्फ पनि आर्मी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । समूह बी को आज भएको खेलमा आर्मीले एपिएफमाथि निकै रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको सेनाले दोश्रो र तेश्रो सेट १९–२५, १३–२५ ले गुमाउन पुग्यो । चौथो सेट २५–२२ र पाँचौँ सेट १५–५ ले जित्दै समूह विजेता बनेको हो । यस्तै यसै समूहको आज भएको अर्को खेलमा गण्डकीले कृष्ण स्पोर्टस् एकेडेमीमाथि २५–८, २५–१०, २५–५ ले पराजित गर्दै लिगका लागि छनोट हुन सफल भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया