पीएम कपः सुदूरपश्चिम र एपीएफ सेमिफाइनलमा
काठमाडौँ- सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लब पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा सोमबार समूह ‘ए’ अन्तर्गत गण्डकी प्रदेशलाई सुदूरपश्चिमले ९ विकेटले पराजित गरेपछि सुदूरपश्चिम र एपीएफ दुवै अन्तिम चारमा प्रवेश गरेका हुन् ।
चार टिम सहभागी समूहमा सुदूरपश्चिम र एपीएफ दुवैले २-२ खेलमा जित हात पारेका छन् । यता दुवै खेलमा पराजय भोगेका बागमती र गण्डकी प्रदेश एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।
सोमबारको खेलमा ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमलाई जित दिलाउन विन्दु रावलले सर्वाधिक ४६ रनको योगदान गरिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६० रन जोड्यो । गण्डकीका लागि सिमाना केसीले १३ रन जोडिन् । सुदूरपश्चिमका लागि मनिषा चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया