खेलकुद

अन्तरपालिका डोरीतानको उपाधि बुढीगंगालाई

इकागज |
माघ ७, २०७९ शनिबार १७:४७ बजे

विराटनगर- विराटनगरमा आयोजित मोरङ जिल्ला अन्तरपालिका स्तरीय डोरीतान प्रतियोगिताको उपाधि बुढीगंगा गाउँपालिकाले जितेको छ ।

बुढीगंगाले मिक्लाजुङ गाउँपालिकालाई २–० को सेटमा पराजित गर्दै ट्रफी उचालेको हो । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले विजेता टोली बुढीगंगालाई ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।


विजेता बुढीगंगा र उपविजेता मिक्लाजुङ यो भेटसहित तेस्रो पटक आमनेसामने भएका थिए । तर, मिक्लाजुङ तेस्रो पटक पनि बुढीगंगासँग चुकेको छ । सेमिफाइनलमा बुढीगंगाले सुनबर्षी नगरपालिका र मिक्लाजुङले केराबारी गाउँपालिकालाई हराएर फाइनलमा पुगेको थियो ।

उपविजेता बनेको मिक्लाजुङका खेलाडीले ३१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

विराटनगर महानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा मोरङ जिल्लाका १० वटा स्थानीय तहबाट खेलाडीहरूले प्रतिनिधित्व गरेको विराटनगर डोरीतान समितिका अध्यक्ष रेशम थापा मगरले जानकारी दिए ।

विजेता बुढीगंगा र उपविजेता मिक्लाजुङ गाउँपालिकासहित विराटनगर महानगरपालिका, ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी गाउँपालिका, सुनबर्षी नगरपालिका, केराबारी नगरपालिका र रंगेली नगरपालिकाका खेलाडीले प्रतिष्पर्धामा भाग लिएको अध्यक्ष मगरले बताए ।

विराटनगरका मेयर कोइरालाले खेलमा जस्तै समूहको भावना लिएर काम गर्न सके समाज समेत अघि बढ्ने बताए । उनले महानगरपालिकाले सडक नाला जस्ता पूर्वाधार निर्माणको कामलाई मात्रै विकास गरेको भन्ने सोच गलत रहेको भन्दै खेलकुद गतिविधिबाट पनि समाजको विकास हुने बताए ।

विश्वकै पुरातन खेल मध्येको एक डोरीतान खेलमा ८० फिट लामो डोरीलाई दुई तर्फबाट ८–८ जनाको खेलाडीको समूहले तान्ने गर्दछन् । जुन समूहले आफ्नोतिर डोरीलाई तानेर अर्को समूहलाई निश्चित बिन्दुबाट अगाडि लैजान्छ त्यसले खेल जित्ने गर्दछन् ।

एउटा समूहमा रहने खेलाडीको तौल ६४० केजीभन्दा बढी तौल हुन नहुने नियम अनुसार प्रतियोगिताका सबै खेल खेलाइएको थियो । विजेता बनेको बुढीगंगाका कूल खेलाडीको तौल ६१९ किलो तथा उपविजेता बनेको मिक्लाजुङका खेलाडीको तौल ५९९ केजी रहेको जनाइएको छ ।

नेपालमा डोरीतान खेलको प्रवर्द्धनका लागि हुने गरेका धेरै प्रतियोगिताहरू मोरङ र सुनसरी जिल्लामा बढी मात्रामा हुँदै आएका छन् ।


Author

थप समाचार
x