खेलकुद

टाइगर कप भलिबलको उद्घाटनमा आयोजक गण्डकी र नेपाल पुलिस भिड्ने

इकागज |
माघ ७, २०७९ शनिबार २०:४९ बजे

पोखरा- ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तयारी पूरा भएको छ । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । आइतबार एक समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । 


प्रतियोगिताको पहिलो दिन तीन खेल हुने आयोजकले जानकारी दिएको छ । उद्घाटन अघिको पहिलो खेल महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने छन् भने पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच हुनेछ । उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसका बीच उद्घाटन खेल हुनेछ ।

राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम समयमा आएर महिलातर्फ नेपाल पुलिसले सहभागिता नजाउने बताएको टेक्निकल टिमका सदस्य टहल सिंह थापा मगरले जानकारी दिए । यसैगरी अन्तिम समयमा महिलातर्फकै अर्को एक विदेशी टोली भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड समेत नआउने आयोजकले जनाएको छ ।

महिलातर्फ दुई टोलीको सहभागिता नभएपछि आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागी गराएको छ । गण्डकीको महिला टिम राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने छ । गण्डकीसँगै महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएको छ । महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५–५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिएका छन् ।

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परीक्षण कुपन भौचर प्राप्त गर्ने छन् । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरू प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

दोश्रो संस्करणमा पुरुषतर्फ उपाधि विजेता नेपाल आर्मी रहेको थियो । भने, महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो ।


Author

थप समाचार
x