खेलकुद

सपना देख्‍न नछाडेका डानी आल्भेस

इकागज |
बैशाख १९, २०७८ आइतबार ८:१२ बजे

काठमाडौँ : डानी आल्भेस १६ वर्षपछि ब्राजिल फर्के । उनले १९ वर्षको हुँदा छोडेको ब्राजिल फर्कंदा उस्तै थिएन । धनी र गरिबबीचको खाडल गहिरो बनेको थियो । जसले आल्भेसलाई दुःखी बनाउने नै भयो । हुन पनि ब्राजिलको आधाभन्दा बढी जनसंख्याखानाको पिरले पिरोलिएको छ । 

आल्भेस युरोप लाग्नुअघि ब्राजिल कस्तो थियो? ‘म हुर्किरहेको ठाउँ वरिपरि खेतीपाती हुन्थ्यो । हामीसँग पैसा हुँदैन थियो । तर भोकै सुत्नु पर्दैन थियो । किनभने हामी आ–आफ्नो खेतमा उत्पादित फसल बाँड्थ्यौँ, खान्थ्यौँ,’ आल्भेस सम्झिन्छन् । 


आल्भेस युरोपमा १७ वर्ष रहे । सेभिया, बार्सिलोना, युभेन्ट्स र पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेले । सबै क्लबमा गरेर ४० उपाधि जिते । प्रसिद्धि कमाए । धनी भए । अनि सन् २०१९ मा घर फर्के । र, स्थानीय साओ पाओलो क्लबसँग अनुबन्धित भए । साओ पाओलो त्यही क्लब हो जसको उनी सानै उमेरदखि समर्थक हुन् । 

आल्भेसले युरोपका ठूला मानिएका विभिन्न क्लबबाट खेले । तर उनलाई सुपर स्टार बनाएको चाहिँ बार्सिलोनाले हो । जहाँ उनी सन् २००८ मा पुगे । छ स्पेनी लिग, तीन च्याम्पियन्स लिग र तीन क्लब विश्वकप गरी २३ उपाधि जिते । त्यो पनि लियोनल मेस्सी, आन्दे्रस इनियस्टा, जाभी जस्ता खेलाडीहरू सम्मिलित टिमको हिस्सा बनेर । अनि त्यस बार्सिलोना टिमले खेल्ने सुन्दर फुटबलमा आल्भेसको भूमिका खास थियो ।

अहिले त्यही बार्सिलोनाका मेस्सी क्लबमा रहने वा नरहने टुङ्गो छैन । तर आल्भेस भने मेस्सी बार्सिलोनामै रहून् भन्ने चाहन्छन् । ‘मेस्सी जन्मेकै बार्सिलोनाको खेलाडी बन्न हो । अनि बार्सिलोनाको स्थापना मेस्सीकै लागि भएको हो । त्यसकारण मेस्सी त्यही रहनुको विकल्प छैन,’ आल्भेस भन्छन् । कुनैबेला मेस्सीले आल्भेसलाई यही सल्लाह दिएका थिए । ‘मैले बार्सिलोना छाड्न खोज्दा मेस्सी भन्थे, यस्तो न्यानो अर्को कुनै क्लब छैन,’ आल्भेस सम्झिन्छन् । यद्यपि आल्भेसले कालन्तरमा बार्सिलोना छाडे । कारण ? आल्भेस बार्सिलोनालाई आफ्नो महत्व बुझाउन चाहन्थे । पछि उनी बार्सिलोना फर्कन नचाहेका होइनन् । तर जुरेन । 

संयोग नै मान्नुपर्छ, आल्भेस बार्सिलोना पुगेकै वर्ष पेप ग्वार्डिओला त्यहाँको प्रशिक्षक बने । उनीहरूआपसमा नजिक थिए । एउटै क्लबमा रही १४ उपाधि जितेको मीठो विगत भुलेका थिएनन् । ग्वार्डिओलाले सन् २०१२ मा बार्सिलोना छाडेका थिए । अनि आल्भेसले त्यसको चार वर्षपछि । ग्वार्डिओला म्यानचेस्टर सिटीको प्रशिक्षक बनेपछि आल्भेसलाई अनुबन्ध गर्ने इच्छा राखे । तर आल्भेस पीएसजीतर्फ हानिए । ग्वार्डिओलाको प्रस्ताव नकारेकामा आल्भेसलाई पछुतो छ ।

‘मैले खेलाडीका रुपमा जे जति सफलता पाएँ, त्यसमा ग्वार्डिओलाको भूमिका ठूलो छ । सिटीमा उनीसँग फेरि जोडिन सक्थे । तर मैले गलत निर्णय लिएँ । आखिर म पनि त मानिस नै हो,’ आल्भेस भन्छन् । आल्भेसलाई अनुबन्ध गर्न चाहने सिटी पहिलो इंग्लिस क्लब थिएन । सन् २००६ मा लिभरपुलले आल्भेसलाई भित्र्याउने प्रयास गरेको थियो । ‘फुटबलले जन्म लिएको देशमा मैले खेल्ने सौभाग्य पाइनँ । सेभियामा छँदा लिभरपुलले मलाई प्रस्ताव राखेकोे हो । म लिभरपुल जान चाहन्थेँ । तर अन्तिममा स्थानान्तरण प्रक्रिया सफल भएन,’ आल्भेस भन्छन् । 

आल्भेस हाल ३७ वर्षको भए । उनले भविष्यका लागि योजना बनाइसकेका छैनन् । न त तत्काल सन्यास लिने उनको योजना नै छ । बरु उनी सन् २०२२ को विश्वकप खेल्ने सपना बुनिरहेका छन् । साओ पाआलोलाई उपाधि जिताउने लक्ष्य त छँदैछ । किनभने साओ पाओलोले सन् २०१२ यता केही पनि जितेको छैन । त्यसकारण पनि आल्भेस आफ्नो लक्ष्यमा दृढ छन् ।

आल्भेसले घुडाँको चोटका कारण २०१८ विश्वकप गुमाए । ब्राजिलियन टिममा उनको अभाव खड्कियो । आल्भेस एक वर्षपछि हुने कोपा अमेरिकाका लागि तयार भए । ब्राजिलले महादेशीय प्रतियोगिता त जित्यो नै, आल्भेसले आफूलाई सर्वोत्कृष्ट खेलाडीका रूपमा सिद्ध गरे ।

लामो समय राइट ब्याक बनेर खेलेका आल्भेस हाल साओ पाओलोको मिडफिल्डमा खेल्छन् । तर ब्राजिलमा ‘मिडफिल्डर आल्भेस’लाई उती रुचाइएको छैन । त्यसले उनलाई दुःखी बनाएको छ । ‘जोसुआ किमिचलाई मन पराइन्छ । तर मैले मिडफिल्डमा खेल्दा राम्रो मानिँदैन । अचम्म लाग्छ । पीएसजीमा पनि मैले मिडफिल्डमै खेलेको हो । म जुनसुकै पोजिसजनमा पनि खेल्न सक्छु,’ आल्भेसको भनाइ छ ।

आल्भेसका लागि २०२२ विश्वकप सबैभन्दा ठूलो सपना हो । त्यसका लागि उनी मेहनत गरिरहेका छन् । यद्यपि ब्राजिलको टिममा पर्न सजिलो छैन । ‘सपना पूरा गर्न संर्घष गर्नुपर्छ भन्ने थाहा छ । जबसम्म म ज्युँदो छु, सपना प्राप्तिका लागि संर्घष गरिरहन्छु,’ आल्भेस भन्छन् ।

साओ पाओलाको जर्सीमा उपाधि जित्ने आल्भेसको अर्को सपना पनि पूरा हुन बाँकी छ । गत सिजनसाओ पाओलो ब्राजिलको लिगमा चौथो स्थानमै सीमित भयो । फेरि ब्राजिलमा लिग च्याम्पियन बन्न त्यति सजिलो पनि छैन । ब्रजिलको उपल्लो श्रेणीको लिगमा २० क्लबले प्रतिस्पर्धा गर्छन् । २०२० मा मात्रै ती क्लबले २७ प्रशिक्षकलाई बर्खास्त गरे । साओ पाओलो समेतले प्रशिक्षक परिवर्तन गर्‍यो । आल्भेसलाई मनपर्ने फर्नान्डो डिनिजलाई बर्खास्त गरेर । 

आल्भेसले आफ्नो करियरमा कैयौँ प्रशिक्षकको प्रशिक्षणमा खेलेका छन् । तीमध्ये आल्भेसलाई मन पर्ने तीनजना छन् । ग्वार्डिओला, टिटे र बर्खास्तीमा परेका तीनै डिनिज । ‘डिनिजले साओ पाओलोलाई उपाधि जिताउन सकेनन् । तर उनले टिमलाई सुन्दर फुटबल खेलाउन सके । फुटबल सम्बन्धी उनको विचार प्रस्ट छ । उनी अन्य प्रशिक्षकभन्दा फरक छन् र ज्ञानका हिसाबले निकै अगाडि पनि । तर ब्राजिलमा उनको कदर छैन । किनभने फरक शैलीमा खेलाउने प्रशिक्षकलाई यहाँ मन पराइँदैन,’ आल्भेस भन्छन् । 

आल्भेसको जन्मभूमि ब्राजिल कोभिड-१९ बाट अत्यधिक आक्रान्त छ । अहिलेसम्म चार लाखले ज्यान गुमाइसके । ती मध्ये दुई लाखभन्दा बढीले त सन् २०२१ मा मृत्यवरण गरेका हुन् । यो संख्या अझै बढ्नेवाला छ । मुलुकको अवस्थाले आल्भेसलाई दुःखी बनाएको छ । तर मैदान बाहिरको अवस्थाले मैदान भित्रको आल्भेसलाई असर नगरोस् भन्नेमा उनी सचेत छन् ।  (दी गार्डियनबाट) 


 


Author

थप समाचार
x