खेलकुद

टाइगर कप भलिबल : दोस्रो दिन विभागीय टिम एपिएफ र आर्मी विजयी

इकागज |
माघ ९, २०७९ सोमबार १८:१७ बजे

पोखरा- पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन एपिएफ र आर्मी विजयी भएका छन् । 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा एपिएफको पुरुष र महिला दुवै टिमले जित्दा पुरुषतर्फ आर्मीले पनि जित निकालेको हो । प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा एपिएफको महिला टोलीले गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा एपिएफले गण्डकीमाथि २५–११, २५–१९ र २५–१६ को सेटमा जित निकाल्न सफल भयो । 


पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो जित निकाल्न सफ भयो । साविक विजेता समेत रहेको आर्मीले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लबलाई सोमबार ३–० ले हराउँदै प्रतियोगिताको पहिलो जित निकालेको हो । आर्मीले सेन्ट जोसेफलाई २५–२०, २५–१७, २५–१० को सोझो सेटमा हराएको हो । 

पुरुषतर्फ कै अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई पराजित गरेको थियो । एपिएफले पुलिसलाई २५–१९, २१–२५, २५–१९ र २५–१८ को सेटमा हराउन सफल भयो । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । राउण्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा महिलातर्फ नेपाल आर्मी, एपिएफ, न्यू डायमण्ड र गण्डकी प्रदेशको टिम सहभागी छ । 

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश खेलिरहेका छन् । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल हुनेछ । महिलातर्फ एपिएफ र न्यू डायमण्ड, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दैछन् । भने, पुरुषतर्फ नेपाल पुलिस क्लब र सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, गण्डकी प्रदेश र एपिएफ भिड्दैछन् ।


Author

थप समाचार
x