खेलकुद

स्थानीय तह सहिद स्मृति गोल्डकपकाे पाँचाैं संस्करण माघ २९ बाट

इकागज |
माघ ९, २०७९ सोमबार २०:३० बजे

मकवानपुर- पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ २९ गतेबाट हुने भएकाे छ । फागुन ११ गतेसम्म संचालन हुने प्रतियाेगिताकाे साेमबार जिल्ला फुटबल संघ मकवानपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।

पत्रकार सम्मेलनमा फुटबल संघ केन्द्रीय सदस्य समेत समेत रहेका जिल्ला अध्यक्ष टिका लामाले प्रतियोगितामा आयोजक मकवानपुरसहित १२ वटा क्लबहरूले भाग लिने जानकारी दिए । गोल्डकपको तयारी तीब्र पारिएको लामाले बताए ।


उनका अनुसार हेटौंडा–५ पिप्ले स्थित क्याम्पा रंगशालमा हुने प्रतियोगितामा आयोजक मकवानपुरसहित मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, एनआरटी क्लब, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, मच्छिन्द्र क्लब, सातदोबाटो युवा क्लब, जावलाखेल युथ क्लब र एभिनिर एफ सि क्यामरुन क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएकाे छ ।

सर्वोकृष्ट खेलाडीलाई यसअघिको तेस्रो र चौथो संस्करणमा हेटौंडा स्कुल म्यानेजमेन्टले रोयल इन्फिल्ड बाइकको प्रायोजन गर्दै आएको थियो । यसपटक पनि बाइकको प्रायोजनका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग छलफल गरिने जिल्ला फुटबल संघ मकवानपुरले जनाएकाे छ ।

जिल्लाको १० वटै स्थानीय तहहरूको आर्थिक सहयोगमा फुटबल संघले सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६२/०६३ को जनआन्दोलनका सहिदहरूको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।

२०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल फागुन ११ गते हुनेछ । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको सभाध्यक्षता तथा बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको उपस्थिति रहेको थियो ।
 


Author

थप समाचार
x