खेलकुद

‘शुभम गिल अल्छी देखिएका छन्’

इकागज |
बैशाख १९, २०७८ आइतवार १४:१२ बजे

काठमाडौँ: यस पटकको इन्डियन प्रिमियर लिग (आइपीएल) मा शुभम गिलको ब्याटिङ सन्तोषजनक रहन सकेन । हुन त कोलकाता नाइट राइडर्सककै समग्र प्रदर्शनमाथि प्रश्न उठिरहेको बेला हो यो । आठ टीम सम्मिलित आइपीएलमा कोलकाता छैँटौँ स्थानमा छ । 

गिलले जारी आइपीएलमा सात खेल खेलिसकेका छन् । भारतीय राष्ट्रिय टीमका समेत भविष्य मानिएका गिलले कुल १३२ रन बनाएका छन् । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ४३ रन बनाए पनि अन्य खेलमा उनले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । जसका कारण गिलको मधूरो आलोचना पनि भइरहेको छ । कतिले भने उनको खराब लयप्रति चिन्ता जाहेर गरिरहेका छन् ।  


गिलले देखाइरहेको खेलबारेमा टिप्पणी गर्नेहरूको सूचीमा इंगल्यान्डका पूर्वकप्तान केभिन पिटरसन पनि थपिएका छन् । उनको टिप्पणी छ, ‘गिल अल्छी भए ।’ आफूले गिलको खेल लामो समय देखि हेरिरहेको बताउँदै पिटरसनले भारतीय युवा खेलाडी क्रिजमा ‘एक्टिभ’ हुनुपर्ने बताए । 

‘गिल असाध्यै राम्रो खेलाडी हो । पछिल्लो समय भने उसमा अल्छीपना देखिएको छ । उ सजिलै आउट भइरहेको छ । खेलको तिब्रतालाई उसले मनन गर्न नसकिरहेको हो कि जस्तो पनि देखिन्छ । अनि उ आफ्नो अल्छीपनामै सन्तुष्ट भएको हो कि भन्ने भान पनि परिरहेको छ । त्यसकारण उ क्रिजमा अलिक बढी सक्रिय हुनुपर्छ । त्यसो भएमा उसले राम्रो रन बनाउन थाल्नेछ,’ पिटरसनले स्टार स्पोर्टससँग कुरा गर्दै भनेका छन् । 

आइपीएलको नयाँ सिजनमा गिलले राम्रो खेल देखाउन नसकिरहे पनि भारतलाई अस्ट्रेलियाविरुद्धको टेस्टमा जित दिलाउन उनको भूमिका सन्तोषजनक थियो । गिलले भारतका लागि सात टेस्ट खेल्दा तीन अर्धशतक प्रहार गर्नुका साथै ९१ रन सम्म जोडेका छन् । गिलले केही ओडीआईमा पनि मौका पाएका छन् । तर, त्यस ढाँचाको क्रिकेटमा भने राष्ट्रिय टीमका लागि उनको प्रदर्शन उल्लेख्य रहन सकेको छैन । यद्यपि गिललाई भारतीय क्रिकेटको भविष्यका रुपमा हेरिदै आइएको छ । 


Author

थप समाचार
x