खेलकुद

टाइगर कप भलिबल : महिलातर्फ सेमिफाइनल समीकरण पूरा

इकागज |
माघ ११, २०७९ बुधबार १८:३८ बजे

पोखरा। पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी महिलातर्फको राउण्ड रोविन लिगका खेल सकिएका छन् । घरेलु टोली गण्डकी प्रदेशसहित एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड सहभागी प्रतियोगितामा सबै टोली सेमिफाइनल खेल्ने भएका छन् । 


जस अनुसार ३ खेलमा ३ वटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले सबै खेल हारेर अन्तिम अथवा चौथों स्थानको गण्डकी प्रदेशसँग खेल्नेछ । यस्तै २ खेल जित्दै ६ अंक जोडेको त्रिभुवन आर्मीले एक खेलेर जितेर २ अंक जोड्दै तेस्रो बनेको न्यू डायमण्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल खेल बिहीबार हुनेछ । 

बुधबार भएको महिलातर्फको खेलमा न्यू डायमण्डले पहिलो जित निकाल्न सफल भयो । न्यू डायमण्डले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । गण्डकीले खेलको पहिलो सेट जितेको खेलमा त्यसपछि न्यू डायमण्डले लगातार ३ सेट जित्दै खेल आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट २५–१९ ले जितेको गण्डकी त्यसपछिका सेटमा २५–१५, २५–१४ र २५–११ को स्कोरमा पराजित बन्यो । 

महिलातर्फकै अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ कै सेटमा पराजित गरेको छ । एपीएफले आर्मीलाई २५–१७, २२–२५, २५–१६ र २५–१५ को स्कोरमा हराएको हो । यस खेलसँगै महिलातर्फको प्रतियोगितामा समूह चरणका खेल सकिएका छन् ।

पुरुषतर्फको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्यो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले विभागीय टोली आर्मीमाथि ३–२ सेटको जित निकालेको हो । 

आर्मीले पहिलो सेट जितेको खेलमा त्यसपछि गण्डकीले निखारिएको प्रदर्शन गर्दै खेलमा फर्किएको थियो । पहिलो सेट गण्डकीले २५–२३ ले गुमाएको थियो । दोस्राे सेटमा भने नतिजा उल्टाउँदै गण्डकीले आर्मीमाथि २५–२३ कै जित निकाल्न सक्यो । तेस्रो सेटमा भने आर्मी गण्डकीमाथि हावी बन्यो । तेस्रो सेटमा आर्मीले २५–२३ ले जितेपछि गण्डकीले चौंथो सेटमा आर्मीमाथि २५–२२ को जित निकाल्यो । चौंथो सेटसम्म २–२ को बराबरी भएपछि खेल अन्तिम सेटमा पुगेको थियो । उक्त सेटमा गण्डकीले आर्मीमाथि १५–१३ को जित हासिल गर्‍यो । 

गण्डकीले योसँगै प्रतियोगितामा ५ अंकका साथ पुरुषतर्फ समूह चरणमा दोस्रो स्थानमा कब्जा जमाएको छ । यसअघि दोस्रो स्थानमा रहेको आर्मी ४ अंकका साथ समूहको तेस्रो स्थानमा झरेको छ ।

पुरुषतर्फको अर्को खेलमा भने नेपाल एपीएफ क्लबले चौंथो जित निकालेको छ । एपीएफले श्रीलंकाको टोली सेन्ट जोशेफ वाज स्पोर्ट्स क्लबलाई हराउँदै प्रतियोगितामा लगातार चौंथो जित निकालेको हो । ३ वटै सेटमा एपीएफले सेन्ट जोशेफलाई २५–२३ को अन्तरमा हराएको हो ।

समूह चरणको सबै खेल जितेको एपीएफ १२ अंकका साथ शीर्ष स्थानमा छ । कुनै पनि खेल नजितेको सेन्ट जोशेफ अन्तिममा रहँदा १ खेल जित्दै पुलिस चौथो स्थान ओगट्न सफल बनेको हो । 

प्रतियोगिताको महिला–पुरुष दुवैतर्फ विजेता टिमले ५–५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेतालाई २ लाख ५० हजार, तेस्रो हुने टोलीलाई १ लाख २५ हजार र चौंथो हुने टिमलाई सान्त्वना स्वरुप ६५ हजार रुपैयाँ पुरस्कार दिइने छ । 

प्रतियोगितामा खेलका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ नगद र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक विधा का उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकलाई १०–१० हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

बिहीबार महिलातर्फको पहिलो सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड फाइनल प्रवेशका लागि खेल्नेछन् । पुरुषतर्फको समुह चरणको खेलमा गण्डकीले सेन्ट जोशेफको समना गर्दा त्रिभुवन आर्मी र नेपाल पुलिससँग खेल्नेछ ।


Author

थप समाचार
x