खेलकुद

दिल्ली एक खेलाडीमा निर्भर छैन : शिखर धवन

इकागज |
बैशाख १९, २०७८ आइतबार १५:२८ बजे

काठमाडौँ: दिल्ली क्यापिटल्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा बलियो प्रदर्शन गरिरहेको छ । सात खेलमध्ये पाँचमा जित हासिल गरेको दिल्ली अंक तालिकामा दोस्रो स्थानमा छ । यसैबीच दिल्लीका ओपनर ब्याट्सम्यान शिखर धवनले आफ्नो टिमको राम्रो सुरुवातमा एक खेलाडीको मात्र नभइ सबैको उत्तिकै योगदान रहेको प्रतिक्रिया दिएका छन् । 

‘हाम्रो टिम बलियो छ । प्रत्येक खेलमा कुनै न कुनै खेलाडीले नेतृत्वदायी प्रदर्शन गरेको छ । यसको अर्थ दिल्ली कुनै एक खेलाडीमा मात्रै निर्भर छैन भन्ने हो । हाम्रो टिममा सबै खेलाडी खेल जिताउन सक्षम छन्,’ धवनले भने ।


धवन आफैँले पनि दिल्लीका लागि सन्तोषजनक खेल देखाइरहेका छन् । बाँया हाते ब्याट्सम्यान धवनले सात खेलमा कुल ३११ रन बनाएका छन् । जसमा दुई अर्धशतक सम्मिलत छ । जारी आइपीएलमा सर्वाधिक रन बनाउनेको सूचीमा धवन तेस्रो स्थानमा छन् ।  

दिल्लीले आइतबार साँझ पन्जाब किंग्सको सामना गर्दैछ । पन्जाबविरुद्धको खेलमा पनि जित दर्ता गर्न आफूहरु तयार रहेको धवनको भनाई थियो । ‘पन्जाबलाई कम आक्न मिल्दैन । तर हामी उनीहरुलाई हराउँदै जित संख्या बढाउन चाहन्छौँ । र, त्यसका लागि तयार पनि छौँ,’ धवनको भनाई थियो ।

केएल राहुलको कप्तानीमा रहेको पन्जाब आइपीएल–२०२१ मा तीन खेल जित्दै पाँचौँ स्थानमा छ । संयोगबस कप्तान राहुलले जारी आयपीएलमा सर्वाधिक रन बनाएका छन् । उनले सात इनिङ्समा गरी कुल ३३१ रन जोडेका छन्् । राहुलको बलियो लयका बाबजुद पनि धवन जित दर्ता गर्नेमा ढुक्क देखिएका छन् । यसअघि पहिलो भेटमा पनि दिल्लीले पन्जाबलाई हराएको थियो । 


 


Author

थप समाचार
x