खेलकुद

'क्लबहरूकै कारण लिग दुई/तीन महिनामा सिमित'

इकागज |
माघ २०, २०७९ शुक्रबार १८:१६ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का फुटबल लिग निर्देशक संजीव मिश्रले सहभागी क्लबहरूकै कारण सहिद स्मारक 'ए' डिभिजन लिग दुईदेखि तीन महिनामा सिमित भएको बताएका छन् । फागुन १९ देखि सुरु हुने 'ए' डिभिजन फुटबल लिग तयारीको जानकारी गराउने उदेश्यले शुक्रबार आयोजिक पत्रकार सम्मेलनका क्रममा मिश्रले क्लबहरुले नै जतिसक्दो चाडो लिग टुंग्याउनका लागि आग्रह गर्ने गरेको लिग केही महिनामै सिमित हुन पुगेको बताएका हुन् ।

लिग केही महिनामा सिमित हुने मात्र नभएर क्लबहरुले मिति नै सार्नका लागि एन्फा पदाधिकारीहरुमाथि दबाब दिँदै आएका कारण जस्का कारण लिग पटक पटक सर्ने गरेको छ । तर एन्फाका महासचिव किरण राईले भने क्लबहरुको समस्याका कारण उनीहरु एन्फाले तोकेको समयमा लिग खेल्न तयार नभएकै कारण लिग सार्न परेको उल्लेख गरे । राईले पछिल्लो समय खेलाडी विदेश जान थालेपछि एन्फासँगै क्लबहरुमाथि पनि दबाब बढ्दै गएको समेत बताए ।


एन्फा महासचिव राईले खेलाडी पलायनका कारण एन्फालाई चोट पुगेको दावी समेत गरे । तर उनले एन्फाको अबको ध्यान भनेको गतिविधि बढाएर खेलाडीलाई रोक्ने तथा खेलाडी उत्पादनमा रहने बताए । थप खेलाडीहरु अस्ट्रेलियाबाट फर्किने तयारीमा रहेको उनले बताए ।

एन्फाले डबल राउण्ड रोबिनको आधारमा लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा आयोजना गर्दैछ । लिगमा सहभागी हुने १४ वटै क्लबले नाम दर्ता गराइसकेको तथा उनीहरुले तयारी खर्चको पहिलो किस्ता १५ लाख समेत लिइसकेको एन्फाले जनाएको छ । एन्फाले लिगको तयारीका लागि 'ए' डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।

लिग विजेताले ७५ लाख, दोस्रो हुनेले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्ड जित्ने टिमले ३ लाख, मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।


Author

थप समाचार
x