पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
मञ्चले सोमबार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो ।
उक्त सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन् । गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवम् अवार्डको खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले बताए ।
मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ । अवार्डसँग इसेवाको तेस्रो वर्षको सहकार्य हो । मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमबार नै इसेवासँग आगामी दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ ।
सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ‘देवेन्द्र’ र इ सेवाको तर्पmबाट हेड अफ बिजनेस डेभलपमेन्ट आशिष प्रसाईंले हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा हस्ताक्षरपछि इ–सेवाका हेड अफ बिजनेस डेभलपमेन्ट प्रसाइले पिपल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुसी रहेको प्रतिक्रिया दिए ।
इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५/२५ प्रतिशत रहनेछ ।
यो वर्षको अवार्ड ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ ।
त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ । अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन् । यो अवार्डको मुख्य प्रायोजन हंसराज हुलासचन्द एण्ड कम्पनी हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया