खेलकुद

एनएसएलः विराटनगरको महत्वपूर्ण जित

इकागज |
बैशाख २०, २०७८ सोमवार २०:४४ बजे

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीले दोस्रो जित दर्ता गरेको छ । सोमबार दशरथ रंगशालामा विराटनगरले एफसी चितवनलाई २-० ले पराजित गर्‍यो । विराटनगरको जितमा विदेशी स्ट्राइकर पेड्रो मान्जी र सन्तोष तामाङले समान एक गोल गरे ।  

चार खेलबाट सात अंक बनाउँदै विराटनगर एनएसएलको शीर्ष स्थानमा उक्लेको छ । धनगढी एफसीको पनि समान सात अंक छ तर गोल भिन्‍नताका आधारमा सूदुरपश्चिमेली टोली दोस्रो स्थानमा छ ।


विराटनगरले दुवै गोल अन्तिम २० मिनेटमा गर्‍यो । पहिलो गोल मान्जीले गरे । ७३ औँ मिनेटमा मान्जीले सुनिल बलको फ्रि-किकबाट आएको बल नियन्त्रणमा लिदै सुन्दर हाफभली गोल गरे । एनएसएलमा मेन्जीको यो दोस्रो गोल थियो । विराटनगरको अग्रता दोब्बर बनाएका मिडफिल्डर सन्तोषले पेनाल्टी एरिया बाहिरबाट दर्शनीय गोल गरे । एनएस्एलमा सन्तोषको कुल गोलसंख्या तीन पुगेको छ । 

पराजित चितवनले चार खेलबाट मात्र दुई अंक जोडेको छ । अंक तालिकामा पुच्छारमा रहेको चितवनको शीर्ष चारमा रही अर्को चरणमा पुग्‍ने सम्भावना क्षिण बन्दै गएको छ । सात टिम सम्मिलत एनएसएलमा बुटवल लुम्बिनी तेस्रो तथा पोखरा थन्डर्स चौँथो स्थानमा छन् । 


Author

थप समाचार
x