खेलकुद

विराटनगरमा १२ औं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

इकागज |
फागुन २, २०७९ मंगलबार २०:५० बजे

विराटनगर- विराटनगरमा ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०२३’ सुरु भएको छ । राष्ट्रिय खेलकुद महासंघको आयोजनामा मंगलबारदेखि प्रतियागिता सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्गबोले गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री मेन्याङ्बोले प्रदेश १ खेलकुदका लागि उर्बर रहेको बताएका हुन् ।

फागुन ७ गतेदेखि हुने महासंघको दोश्रो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित प्रतियोगितालाई सम्बोधन गर्दै  मेन्याङ्बोले खेलकुद राष्ट्रको पहिचान र खेलाडी गहना भएको बताएका छन् । उनले खेलकुद महासंघले खेलाडी उत्पादनमा खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।


महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले खेल र खेलाडीको संरक्षणका लागि आफूले प्रदेश १ खेलकुद विकास बोर्डको सदस्य सचिव भएर काम गर्दा महत्वपूर्ण नीतिगत निर्णय गरेको बताए ।

उनले राष्ट्रिय वरियताको प्रतियोगितामा विराटनगरमा गर्न पाउनु प्रदेश १ का खेलाडीहरूका लागि निकै ठूलो गौरवको विषय भएको दाबी गरे । उनले प्रतियोगितामा सहभागिता जनाउन विभिन्न खेलका तीन सय बढी राष्ट्रिय खेलालीहरू विराटनगरमा आएको जानकारी दिए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा शीर्ष १६ वरियतामा रहेका पुरुष एकल, शीर्ष १२ वरियतामा रहेका महिला एकल, शीर्ष १६ वरियता बाहेकका पुरुष एकल, शीर्ष १२ वरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्षमाथि र ५५ वर्षमाथिका खेल खेलाइने जनाइएको छ । जसका लागि २०६ जना खेलाडीहरू प्रतिष्पर्धामा उत्रिने छन् ।

२४ लाख ८४ हजार रुपैयाँको खर्च अनुमान गरिएको प्रतियोगितामा पुरस्कार राशि ५ लाख ९८ हजार राखिएको जनाइएको छ । शीर्ष १६ वरियता पुरुष र शीर्ष १२ वरियता महिला तर्फको खेल लिग–कम नकआउटका आधारमा हुनेछ । यसरी खेल्दा खेलाडीहरूले खेलमा सहभागिता जनाउने बित्तिकै नगद १ हजार ५०० प्राप्त गर्नेछन् ।

लिग चरणका खेलको प्रत्येक जितमा थप १ हजार ५०० प्राप्त गर्नेछन् । क्वाटरफाइनल जित्ने खेलाडीले थप ८ हजार र त्यसपछिको सेमिफाइनल जित्नेले फेरि थप १६ हजार प्राप्त गर्नेछन् ।

फाइनलमा जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने जनाइएको छ । उच्च वरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ वर्षमाथि र ५५ वर्षमाथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


Author

थप समाचार
x