बलात्कार आरोपितलाई राष्ट्रिय टिमबाट खेलाएको भन्दै संसद्मा उठ्यो प्रश्न
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नाबालिग बलात्कार आरोपित लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट खेल्न दिएकोप्रति प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकका क्रममा बोल्दै श्रेष्ठले सन्दीपलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दिएको भन्दै प्रश्न गरेकी हुन् । उनले पूर्व कप्तान लामिछानेलाई कुन नैतिकताको आधारमा र कसरी राष्ट्रको प्रतिनिधि बनाइएको भन्दै प्रश्न उठाएकी थिइन् ।
‘एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यही कारण पीडितलाई अझै मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ। आरोप लागेका व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला?,’ उनले प्रश्न गरिन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत मंगलबार भएको खेलमा लामिछाने नामिबियाविरूद्ध मैदानमा उत्रिएका थिए ।
‘न्यायपालिकाको काम चुस्त, दुरूस्त र पारदर्शी हुनुपर्यो। सबैको पहुँचमा हुनुपर्यो। त्यसो नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजन हुन थालिसकेको छ । सन्दीप लामिछानेको मुद्दा हेरौं। त्यो कहिलेसम्म छिनोफानो गर्छौं? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो?,’ उनको प्रश्न थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया