सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ : एभिनियर एफसी सेमिफाइनल प्रवेश
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को बुधबार भएको खेलबाट एभिनियर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै क्यामरुनी टोलीले अन्तिम चारमा स्थान बनाएको हो ।
एभिनियर एफसीको जितमा यानिक योहाना र साबाले गोल गरेका थिए । यानिकले खेलको मिनेट ३९ र साबले ७४ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन् । खेलको म्यान अफ दी म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे ।
मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।
२०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ । बिहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया