खेलकुद

आइपीएल २०२१ स्थगित

इकागज |
बैशाख २१, २०७८ मंगलबार १५:११ बजे

काठमाडौँ: भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) ले मंगलबार इन्डियन प्रिमियर लिग २०२१ स्थगित भएको घोषणा गरेको छ । केही समय यता आइपीएल स्थगन गर्नुपर्ने माग उठ्दै आइरहेको थियो । मंगलबार सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सको क्याम्पमा कोभिड-१९ संक्रमित फेला परेपछि बीसीसीआइ र आइपीएल व्यवस्थापनबीच बैठक भयो, र प्रतियोगिता स्थगन गर्ने तत्काल निर्णय लियो । हैदरावाद र दिल्ली मंगलबार साँझ मैदान उत्रने तालिका थियो । 

‘आइपीएल व्यवस्थापन र बीसीसीआइबीचको बैठकले आइपीएल स्थगन गर्ने निर्णय लिएको छ । आइपीएलमा संलग्न खेलाडी तथा अन्य स्टाफहरुको स्वास्थ्य प्रति हामी संवेदनशिल छौँ । त्यसकारण पनि यस्तो निर्णय लिइएको हो । भारत कोभिड-१९ ले आक्रान्त बनिरहेको छ । हामीले आइपीएल मार्फत कोभिड-१९ बाट पिडित बनेका भारतमा पोजिटिभिटी आओस भन्ने चाहेका थियौँ । तर अहिलेका लागि सबैजना आ-आफ्ना परिवारसँगै बस्नु उचित भएको ठानेर आइपीएल स्थगित गर्ने निर्णय गरेका हौँ,’ बीसीसीआइले मंगलबार दिउसो जारी गरेको वत्तब्यमा भनेको छ । 


सोमबार मात्रै कोलकाता नाइट राइडर्सका दुई र चेन्नाई सुपर किंग्सका तीन खेलाडी कोभिड-१९ संक्रमणमा परेको पुष्टी भएको थियो । खेलाडीहरुमा कोभिड-१९ संक्रमण देखिएकै कारण कोलकाता र रोयल च्यालेन्जर्स बेंगलोरबीचको खेल अर्को मितिका लागि सारिएको थियो । त्यसैगरी राजस्थान रोयल्स र चेन्नाईबीचको खेल खेल पनि बुधबारका लागि सारिएको थियो । 

बीसीसीआइले विभिन्न सहरमा जारी आइपीएलका सम्पूर्ण खेल मुम्बईमा गराउने योजना पनि बनाएको थियो । तर संक्रमित हुने खेलाडीहरुको संख्या बढ्दै गएपछि बीसीसीआइ आइपीएल नै स्थगन गर्ने निर्णयमा पुग्यो । कोभिड-१९ लाई कारण बनाउँदै यसअघि नै केही विदेशी खेलाडीहरुले आइपीएल छाडेका थिए ।  


 


Author

थप समाचार
x