खेलकुद

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा

इकागज |
बैशाख २२, २०७८ बुधवार ६:४१ बजे

काठमाडौँ : म्यानचेस्टर सिटी आफ्नो इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटीले मंगलबार राति इतिहाद रंगशालामा सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि २-० को विजय प्राप्त गर्‍यो । 

दोस्रो लेगको नतिजासँगै सिटी समग्रमा ४-१ को जितसहित फाइनल प्रवेश गर्‍यो । सिटीले अब उपाधिका लागि मे २९ मा रियल म्याड्रिड र चेल्सीबीचको विजेताको सामना गर्नेछ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन दुबै गोल रियाद माहरेजले गरे । पहिलो लेगमा सिटी २-१ ले विजयी हुँदा पनि माहरेजले गोल गरेका थिए ।


इंग्लिस प्रिमियर लिग उपाधिको नजिक रहेको सिटीले यस सिजन ‘ट्रेबल’ जित्‍न सक्नेछ । च्याम्पियन्स लिग र प्रिमियर लिग उपाधि नजिक रहेको सिटीले यसअघि नै कारबाओ कप उचालिसकेको छ । 

सिटी यसअघि पेप ग्वार्डिओलाको नेतृत्वमा च्याम्पियन्स लिगको सेमिफाइनल पनि पुग्‍न सकेको थिएन । त्यसो त ग्वार्डिओला कै लागि पनि यो तेस्रो च्याम्पियन्स लिग फाइनल हो । यसअघि उनले सन् २००९ र २०११ मा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका थिए । 

करिब २० मिनेट १० खेलाडीमा सिमित पीएसजीलाई हराएपछि ग्वार्डिओलाले च्याम्पियन्स लिगको फाइनल पुग्‍न निकै कठिन रहेको प्रतिक्रिया दिए । ‘अरुलाई लाग्‍न सक्छ हामी सजिलै च्याम्पियन्स लिगको फाइनल पुगेको हो । तर यो सत्य होइन । हामीले विगत चार वा पाँच वर्षदेखि महेनत गर्दै आएका छौँ । यी खेलाडीहरुले प्रत्येक दिन पसिना बगाएका छन्,’ ग्वार्डिओलाले भने ।   

   


Author

थप समाचार
x