खेलकुद

पारसको विरासत बचाउँदै छन् कप्तान रोहित पौडेल ?

इकागज |
फागुन ११, २०७९ बिहीबार १६:५५ बजे

काठमाडौँ– नेपाली क्रिकेटमा रोहित पौडेल युग सुरु भएको छ । टिममा क्षमतावान् खेलाडीसँगै अनुभवी प्रशिक्षक पाएपछि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेटले नयाँ युग सुरु गरेको हो ।

नेपाली क्रिकेटको बलियो जग हालेर विश्वकपसमेत खेलिसकेका पूर्वकप्तान पारस खड्काको विरासत अब रोहितले बचाउने भरोसा बढेको छ । पारसको अप्रत्याशित सन्यास र त्यस समयका उत्कृष्ट खेलाडीको बिदाई तथा राष्ट्रिय टिमबाट बहिगर्मनसँगै धराशायी बनेको नेपाली क्रिकेटमा अब रोहितकै कप्तानीले नयाँ शिराको यात्रा सुरु गरेको स‌ंकेत देखिन्छ ।


त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत खेलिएका चार खेलको श्रृङ्खलामा नेपालले क्लिनस्वीप गर्दा सबैभन्दा ठूला हकदार कप्तान पौडेल बनेका छन् । टिम संकटमा परेका बेला संयमित भएर ब्याटिङ गर्दै जितको आधार तयार पार्नेदेखि विजय सुनिश्चित गर्ने काम रोहितले गरेका छन् ।

जुन उनले अन्तिम खेलमा प्रमाणित गरे । स्कटल्याण्डजस्तो बलियो र अनुभवी टोलीविरुद्ध संकटमा परेको टिमलाई नटआउट ९५ रनको योगदान दिएर २ विकेटको जित दिलाउनु नेपाली कप्तानको क्षमता नयाँ उचाईमा पुगेको प्रमाणित हुनु हो ।

पारसले नेपाली क्रिकेटमा अतुलनीय योगदान दिएका छन् । उनले नेपाली क्रिकेट टिमको निर्माणदेखि विश्वकप छनौट खेल्दै सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेलेका थिए । नेपाललाई एकदिवसीय मान्यता दिलाउन र टिमलाई बरियतामा राख्न उत्कृष्ट योगदान गरेका पारस नेपाली क्रिकेटका ‘पायोनियर’ हुन् ।

पारसले शक्ति गौचन, वसन्त रेग्मी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बिनोद भण्डारीलगायतका लिजेन्ड खेलाडीको सहयोगमा नेपाली क्रिकेटलाई उचाईमा पुर्याएका थिए ।

पारसको सन्यासपछि त्यतिबेला पनि उत्कृष्ट खेलिरहेका ज्ञानेन्द्र मल्ल मात्रै अहिले टिममा छन् । बाँकी धेरै खेलाडी राष्ट्रिय टिमबाट बाहिरिसकेका छन् । शक्ति गौचन लगायत खेलाडीले सन्याससमेत लिइसकेका छन् ।

पारसपछि ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेले कप्तानी सम्हालेपनि विभिन्न विवादका कारण क्यानले रोहित पौडेलको काँधमा नेतृत्व जिम्मेवारी दिएको थियो ।

रोहितको कप्तानी रहेका बेला क्यानले मोन्टी देशाईलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्नु अर्को संयोग बन्यो । जसले गर्दा अनुभवी प्रशिक्षक र क्षमतावान खेलाडीका कारण नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित चार खेलको त्रिदेशीय श्रृङ्खला क्लीनस्वीप गरेको हो । यद्यपि चारै खेलमा नेपालले निकै ठूलो मेहनत गरेर जित हात पारेको छ । चौथो खेलमा नेपालले २१३ रनको लक्ष्य पछ्याउँदा सुरुवाती र मध्यक्रमका सबै ब्याटर आउँदा हुँदा पनि रोहितले कप्तानी इनिङ खेले ।

करण केसीले नवौँ नम्बरमा ब्याटिङ गर्दा रोहितले विजयी चौका हान्दै टिमलाई क्लीनस्वीप जित दिलाएको पलले नेपाली क्रिकेटमा धेरै परसम्म अर्थ राख्ने पक्का छ । युवा ब्याटर रोहितले नेतृत्व गरेको टिममा ओपनर कुशल भुर्तेल, आसिफ शेख जस्ता क्षमतावान खेलाडीले टिमलाई राम्रो योगदान दिइरहेका छन् ।

यस्तै तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका ज्ञानेन्द्र मल्ल जस्ता भेट्रान ब्याटरले पनि नेपाली क्रिकेटको जितमा निरन्तर योगदान गरिरहेका छन् । दीपेन्द्रसिंह ऐरी आफैँमा पूर्ण क्रिकेटर हुन् । जसले टिमलाई चाहिएको बेला ब्याट र बल दुवैमा उत्कृष्ट योगदान गर्दै आएका छन् ।

अलराउण्डर ऐरीसँगै कुशल मल्ल पनि एक विशेष खेलाडीका रुपमा टिममा छन् । करण केसी आफैँमा उत्कृष्ट अलराउण्ड र फिनिसर हुन् । सोमपाल कामी, सन्दीप लामिछाने जस्ता विश्वस्तरीय बलरले गर्दा नेपाली टिम अझै केही वर्ष उत्कृष्ट फर्ममा रहने पक्का छ ।

जसलाई पारस खड्कापछि रोहित पौडेलले नेतृत्व गरेको टिमको एक विशेष टिमका रुपमा लिन सकिन्छ । तत्काललाई रोहित पौडेलको कप्तानीमा रहेको नेपाली क्रिकेट टिमले विश्वकप छनौट खेल्ने सम्भावना पनि जिवित राखेको छ ।

रोहितले बाँकी आठै खेल जित्ने सम्भावना बाँकी राखेपनि त्यो पूरा गर्न चुनौती छ । अहिलेलाई कम्तीमा पाँच खेलमा जित हात पारेर नेपाललाई एकदिवसीय मान्यता जोगाइराख्न नेतृत्व गरेपनि ठूलो उपलब्धी हुनेछ । 

पछिल्लो समय क्यानभित्र मौलाएको राजनीति, खेलाडीबीचकै मनमुटाव र झगडा तथा फिक्सिङ प्रकरणले आलोचित बनेको नेपाली क्रिकेटमा रोहित पौडेलको कप्तानीमा जितले निरन्तरता पाएको खण्डमा पारसको विरासत जोगाउनुका साथै नेपाली क्रिकेट नयाँ उचाईमा पुगेको हेर्न सकिनेछ ।


 


Author

थप समाचार
x