खेलकुद

के मेस्‍सीको टिमले नियम तोडेको हो ? खेलाडीहरूमाथि छानबिन सुरु

इकागज |
बैशाख २२, २०७८ बुधबार १०:१५ बजे

काठमाडौँ : स्पेनको क्याट्लोनियामा लकडाउन जारी छ । नियम अनुसार एक ठाउँमा ६ जनासम्म मात्रै भेला हुन सक्छन् । लियोनल मेस्सी र उनका साथीहरूले यो नियम तोडेको आरोप लगाइएको छ । र, स्थानीय प्रहरीले यसबारेमा छानबिन गरिरहेको छ । 

गोल डटकमका अनुसार बार्सिलोना कप्तान मेस्सीले गत सोमबार आफ्नो घरमा ‘लन्च मिटिङ’ आयोजना गरेका थिए । आउँदो बुधबार हुने बार्सिलोना र एथलेटिको म्याड्रिडबीचको खेलको विषयमा छलफल गर्न मेस्सी र खेलाडीहरू भेला भएको बताइएको छ । ‘बार्सिलोनाका खेलाडीहरू आ-आफ्ना पार्टनरसहित मेस्सीको घर पुगे । बगैँचामा लन्च मिटिङ गरियो । यद्यपि सबै जना फरक-फरक टेबलमा थिए,’ गोलले आफ्नो रिपोर्टमा लेखेको छ । 


ला लिगा प्रशासनले यसबारेमा छानबिन सुरु गरेको बताइएको छ । खेलाडीहरूले कोभिड-१९ सम्बन्धि नियम तोडेको पाइएमा कस्तो कारबाही गरिन्छ प्रष्ट छैन । न त बार्सिलोनाले नै यस विषयमा प्रतिक्रिया दिएको छ । 

यसअघि सेभियाका चार खेलाडीले कोभिड-१९ सम्बन्धि नियम तोडेको पाइएको थियो । ला लिगाका हाभियर टेबासले उनीहरुलाई कारबाही गर्ने अभिव्यक्ति दिएका थिए । तर अन्तिममा उनीहरूलाई माफी माग्‍न लगाइयो र छाडियो । 


Author

थप समाचार
x