खेलकुद

लिग-२: नेपालले लगातार पाँचौ जित हात पार्दा पीएनजी ४ विकेटले पराजित

इकागज |
फागुन १५, २०७९ सोमबार १८:५२ बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा आजबाट सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ४ विकेटले पराजित गरेको छ ।

लिग-२ अन्तर्गत नेपालको यो लगातार पाँचौ जित हो । यसअघि नेपालमा भएको सिरिजमा नामिबिया र स्कटल्यान्डविरुद्धको चारवटै खेल नेपालले जितेको थियो । दुबई इन्टरनेसन स्टेडियममा पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।


नेपाललाई जित दिलाउन आशिफ शेखले ४४ रन तथा कुशल भुर्तेलले ५६ रनको योगदान गरे । आरिफ शेखले ३३ रन बनाए । पीएनजीका असाद भालाले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन जोड्यो । पीएनजीका लागि असाद भालाले ३६ रन, सेसे बाउले ३१ रन र कप्तान किपलिन डोरिगाले २९ रन जोडे । हिरी हिरीले १० रन बनाए ।

चाड सोपरले ३६ रन तथा नोरमन भानुआले २५ रन बनाए । नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट हात पारे । कुशल मल्लले २ तथा करण केसी, प्रतिश जिसी र सोमपाल कामीले १-१ विकेट लिए । प्रतिशले डेब्यू खेलमै विकेट लिएका हुन् ।


Author

थप समाचार
x