स्पोर्ट्स अवार्डका लागि एनएसजेएफले सार्वजनिक गर्यो चार विधाको मनोनयन
काठमाडौँ- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गतको चार विधाको मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न चार विधाको मनोनयन पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मञ्चले अवार्डका लागि वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधातर्फको मनोनयन सार्वजनिक गरेको हो । स्पोर्ट्स अवार्ड फागुन २३ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।
एनएसजेएफका अनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलरद्वय अन्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् ।
महिलातर्फ क्रिकेटरद्वय सीता राना मगर र रुबिना क्षेत्री, भलिबलकी अरुणा शाही, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेकी छन् ।
वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी र प्रिती राई तथा बक्सिङका छिरिङ वान्ग्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा रहेका छन् ।
वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका अब्दुल्लाह अल्मुताईरी, क्रिकेटका डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट छन् ।
मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन यस अघि नै सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा रहेका छन् ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया