खेलकुद

पीएसजी ‘प्रोजेक्ट’ सफल कि असफल ?

इकागज |
बैशाख २३, २०७८ बिहीबार ६:२८ बजे

काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी) को च्याम्पियन्स लिग जित्‍ने सपनामा फेरि धक्का पुगेको छ । गत सिजन फाइनल पुगेको पीएसजी यसपटक अन्तिम चारबाटै बाहिरियो । खाडीकै स्वामित्व भएको अर्को क्लबसँग भिड्दा पीएसजी कमजोर देखियो । पेरिसमा २–१ ले पछि परेको पीएसजीले म्यानचेस्टरमा पनि उति नै गोल खायो । 

दुबै सहरमा रवाफिलो खेल देखायो म्यानचेस्टर सिटीले । पीएसजीलाई पन्छाउन ग्वार्डिओलाले तयार पारेको योजनाको नायक बने, रियाद माहरेज । जसको नाममा कुल तीन गोल रह्यो । पीएसजीको फितलो रक्षापंक्तिलाई तोड्न अल्जेरियाका फरवार्डले खासै मेहेनत गर्नु परेन । 


च्याम्पियन्स लिगको अध्याय सकिएपछि पीएसजीमा केही महत्वपूर्ण प्रश्न खडा भएका छन् । ती प्रश्न किलियान एमबाप्पे र नेयमारको भविष्यसँग जोडिएका छन् । यी दुई खेलाडी पीएसजीका सबैभन्दा ठूला स्टार हुन् । तर दुवैको क्लबसँगको सम्झौँता सन् २०२२ मा सकिँदैछ । मतलब एक वर्षपछि एमबाप्पे र नेयमार फ्रि-एजेन्ट हुनेछन् । र, जुनसुकै क्लबले पनि उनीहरूलाई अनुबन्ध गर्न सक्नेछ । त्यो पनि स्थान्तरण रकम नतिरी । अब प्रश्न उठ्छ, के पीएसजीले यस्तो अवस्था सिर्जना हुन देला ? वा यस्तो अवस्था आउन नदिन फ्रेन्च क्लबसँग केही उपाय छ ? 

यदि युरोपियन सञ्चार माध्यमको खबर पत्याउने हो भने, एमबाप्पे पीएसजी छाड्न चाहन्छन् । उनी नयाँ चुनौतिको सामना गर्न चाहन्छन् । त्यो भनेको अर्को धनी क्लब जाने नै हो । अनि नेयमार ? सम्भवत उनी पीएसजीमा रहनेछन् । पेरिस क्लबको निर्विवाद एक्लो ठूलो स्टार बनेर । 

कोभिड-१९ ले विश्व अर्थतन्त्रलाई असर गरेको छ । अनि फुटबल अर्थतन्त्रलाई पनि । त्यसैले सरुवा बजारमा रियल म्याड्रिड र बार्सिलोना जस्ता क्लब धेरै खर्च गर्ने अवस्थामा छैनन् । त्यसैपनि उनीहरू पहिलाबाटै ऋणले थिचिएका छन् । यस्तो अवस्थामा उनीहरुसँग एमबाप्पे वा नेयमार अनुबन्ध गर्न पुग्दो बजेट नहुन सक्छ ।  

च्याम्पियन्स लिगमा अपेक्षाकृत सफलता नपाए पनि पीएसजी फ्रेन्च लिगमा सबैभन्दा बलियो टिम हो । पीएसजीले पछिल्ला तीन सिजन लगातार लिग जितेको छ । यो सिजन भने पीएसजीका लागि केही फरक बनेको छ । प्रशिक्षक परिवर्तन, त्यसको मुख्य कारण हो । 

पीएसजीले भन्‍न सक्छ, बजेट हामीसँग छ । दुवै स्टारलाई क्लबमा राख्न हामी सक्षम छौ । त्यसो त एमबाप्पे र नेयमारले यो पनि सोच्न सक्छन्, ‘हामी मिलेर पीएसजीलाई युरोपियन कलब फुटबलको बलियो शक्ति बनाउन सक्छौँ’ । फेरि च्याम्पियन्स लिग सेमिफाइनल पुग्‍नु सानो उपलब्धी पनि त होइन । त्यो पनि बार्सिलोना र बायर्न म्युनिख जस्ता क्लबलाई हराएर । अनि गत सिजनको उपलब्धी त छँदैछ । 

च्याम्पियन्स लिगमा अपेक्षाकृत सफलता नपाए पनि पीएसजी फ्रेन्च लिगमा सबैभन्दा बलियो टिम हो । पीएसजीले पछिल्ला तीन सिजन लगातार लिग जितेको छ । यो सिजन भने पीएसजीका लागि केही फरक बनेको छ । प्रशिक्षक परिवर्तन, त्यसको मुख्य कारण हो । यद्यपि पीएसजी शीर्षस्थानको लिल भन्दा एक अंकले मात्रै पछाडि छ । लिगमा तीन खेल बाँकी रहँदा पीएसजी च्याम्पियन बन्‍ने सम्भावना जिवितै छ ।  

तर फेरि पनि प्रश्न उही । च्याम्पियन्स लिगबाट बाहिरिएको पीएसजीले लिग पनि जित्‍न नसके ? पीएसजीको अबको योजना के हो ? जवाफ दिने जिम्मेवारी स्‍पोटिङ निर्देशक लियोनार्दोको हो । ‘केही नयाँ घोषणा हुनेवाला छैन । हामी आफ्ना स्टारहरूलाई क्लबमा राख्‍न चाहन्छौँ । माउरिसियो पोचेटिनो भर्खर आएका छन् । बल्ल त प्रोजेक्ट सुरु भयो,’ लियानार्दो भन्छन् । 

प्रोजेक्ट शब्द फुटबलमा धेरै प्रयोग हुन्छ । विशेषगरी धनी क्लबहरूमा । स्टार खरिददेखि नयाँ प्रशिक्षक नियुक्ती सम्मलाई प्रोजेक्टको नाम दिइन्छ । कतारीले पीएसजीको स्वामित्व लिँदा पनि नयाँ प्रोजेक्ट सुरु भयो भनियो ।

त्यसो भए सन् २०११ मा कतारी मालिक भित्रिएपछि सुरु भएको पीएसजीको नयाँ प्रोजेक्ट कहाँ पुग्यो त ? अनि त्यसको नतिजा ? सफलता वा असफलता ? सायद यसको उत्तर हामीले आउँदो मेको अन्त्यमा पाउनेछौँ । अथवा सरुवा बजारमा पीएसजीको सक्रियताले पनि जवाफ दिनेछ । अहिलेका लागि, हामीले देखेको यर्थाथ भनेको च्याम्पियन्स लिगमा पीएसजीले भोगेको असफलता नै हो ।


Author

थप समाचार
x