विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुँदै
विराटनगर- विराटनगरमा विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । ‘प्रथम विराटनगर हब अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता’ मा ६ वटा विद्यालयले सहभागिता जनाउने भएका हुन् ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेशन र क्रिकेट विदआउट बाउण्ड्रीसँगको सहकार्यमा पहिलो पटक अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुन लागेको जनाइएको छ ।
फागुन २० देखि २२ गतेसम्म प्रतियोगिता हुने नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविषेक श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । प्रतियोगितामा विराटनगरका आदर्श विद्यालय, आदर्श बालिका विद्यालय, महेन्द्र रात्री मावि, सरस्वती मावि, सत्यनारायण मावि गरी पाँचवटा विद्यालय र जहदा गाउँपालिकाको लक्ष्मी मावि जहदाले सहभागिता जनाउने उनले बताए ।
विराटनगर–६ स्थित म्यारिलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा खेल्ने उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेट किपर, इमर्जिङ प्लेयर र प्लेयर अफ दि सिरिज घोषित गरिने छ । उनीहरूलाई एक वर्षको छात्रवृत्ति समेत प्रदान गरिने जनाइएको छ । लिग चरणमा हुने प्रतियोगिता १५ ओभर हुनेछ ।
फाउण्डेशनले यसै साता विराटनगरमै विद्यालय स्तरीय छात्र क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ । सामुदायिक विद्यालय स्तरबाटै क्रिकेट खेलमा आकर्षण बढाउन २० जना प्रशिक्षकहरू उत्पादन गरी विद्यालयमा पठाएर तालिम दिँदै आएको छ । तालिमपछि खेलाडीहरूको खेल क्षमता विकास गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया