खेलकुद

अन्तर विद्यालय महिला क्रिक्रेटको उपाधि लक्ष्मी स्कूल जहदालाई

इकागज |
फागुन २२, २०७९ सोमबार २१:५४ बजे

विराटनगर - प्रथम विराटनगर हब अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि लक्ष्मी स्कुल जहदाले जितेको छ । सोमबार उपाधिका लागि भएको फाइनल खेलमा विराटनगरको महेन्द्र स्कुललाई १० विकेटले पराजित गर्दै लक्ष्मी स्कुलले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको महेन्द्रले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ७० रनको योगफल तयार पारेको थियो । महेन्द्र स्कुलकी स्नेहा सहनीले सर्वाधिक ८ रनको योगदान दिइन् । महेन्द्रलाई खेलमा टिक्नका लागि लक्ष्मी स्कुलकी खुशी राजवंशी बाधक बनिन् । उनले सर्वाधिक ४ विकेट लिंदै प्रतियोगिताको वुमन अफ दि फाइनल घोषित भइन् ।


७१ रनको लक्ष्य पछ्याएको लक्ष्मीले ९ दशमलव ४ बलमा विना क्षति लक्ष्य भेट्टाएको थियो । लक्ष्मीका लागि खुशी राजवंशीले नटआउट २२ बनाउँदा वेदिका राजवंशीले नटआउट २४ रनको योगदान गरिन् ।

प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा सरस्वती स्कुलले आदर्श बालिका स्कुललाई ६५ रनले पराजित गरेको थियो । टस हारेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १५ ओभरमा १४८ रनको योगफल बनाएको थियो । सरस्वतीकी पूर्णीमा राजवंशीले नटआउट ५७ रन बनाउँदा प्रेरणा पासवानले पनि ५६ रन जोडिन् ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको आदर्श बालिकाले निर्धारित पुरै ओभर खेल्दा २ विकेटको क्षतिमा ८३ रनमा सीमित बनेको थियो । आदर्श बालिकाका लागि पिंकी राजवंशीले नटआउट २३ रन जोड्दा सुस्मा राजवंशीले नटआउट १३ रनको जोडिन् । सरस्वतीकी कृष्टिना धामीले २ विकेट लिइन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडि सरस्वतीकी पुर्णीमा राजवंशी घोषित भइन् । त्यस्तै उत्कृष्ट ब्याट्स म्यानतर्फ सरस्वतीकै पे्ररणा पासवान, उत्कृष्ट बलर लक्ष्मी स्कुल जहदाकी खुशी राजवंशी, उत्कृष्ट बिकेट किपर महेन्द्रकी अम्बिका राजवंशी घोषित भइन् । उदयमान खेलाडीतर्फ जहदाकी फुलकुमारी राजवंशी घोषित भएकी थिइन् । 

प्रतियोगिता अन्तर्गत मोरङको विराटनगर महानगरपालिका र जहदा गाउँपालिकाका गरी ६ वटा सामुदायिक विद्यालयका छात्राहरुको सहभागिता रहेको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ जानकारी दिए ।

विजयी विद्यालय तथा खेलाडिलाई नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद परिषदका पूर्व अध्यक्ष पर्शुराम बस्नेत, क्रिकेट विदआउट बाउण्ड्रीका प्रतिनिधी सारा बेग, नेकोस क्रिकेट संघका केन्द्रीय अध्यक्ष विप्लव घोष, सुनसरी क्रिकेट संघका अध्यक्ष सिपि पौडेल लगायतले ट्रफी हस्तान्तरण गरेका थिए । 

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विदआउट बाउण्ड्रीको सहयोगमा विराटनगर–६ मा मेल्वर्न विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको थियो ।


Author

थप समाचार
x