खेलकुद

१० लाख रुपैयाँ पुरस्कार राशीकाे जगदम्बा जीतपुरसिमरा गोल्डकप ९ चैतदेखि

इकागज |
फागुन ३०, २०७९ मंगलबार १४:५३ बजे

बारा । जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत ९ देखि आयोजना हुने भएको छ । सिमरा रंगशालामाफ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे सोमबार आयोजक नवजनजागृति युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

प्रतियोगितामा ५ ए डिभिजन क्लब र ५ मोफसलका गरि १० टिमको सहभागिता रहनेछ ।


साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगंज युनाइटेड क्लब र आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्ण दत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

अघिल्लो संस्करणबाट मुख्य प्रायोजकका रुपमाआएको जगदम्बा स्टिलले यसवर्षका लागि सम्झौता नवीकरण गरेको हो । प्रतियोगिताको व्यवस्थापनमा जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

चैत १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नव जनजागृति युवा क्लबले जनाएको छ ।

सूर्य नेपाल प्रा.लि.को मुख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता बृद्धि गरिएको क्लबले जनाएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट समेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजता प्राप्त गर्नेछन् ।
 


Author

थप समाचार
x