खेलकुद

'नेपाली खेलाडीबारे भारतीय क्लबहरूले सोधिरहेका छन्'

प्रविणबिक्रम कट्‍वाल |
बैशाख २४, २०७८ शुक्रबार ६:४२ बजे

काठमाडौँ : काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा सातमध्ये दुई प्रशिक्षक विदेशी छन् । धनगढी एफसीका तोपे फुजा र विराटनगर सिटी एफसीका यान ल । फुजा नेपाली फुटबल लिगको अनुभव गरिसकेका प्रशिक्षक हुन् भने यान पहिलो पटक नेपाल आएका हुन् । 

भारतीय प्रशिक्षक यान २८ वर्षका भए । उमेरमा उनीभन्दा पाका धेरै खेलाडी छन् विराटनगरको टिममा । पूर्वेली क्लबका मुख्य स्ट्राइकर पेड्रो मान्जी नै यानभन्दा चार वर्षले पाका छन् । उनका लागि यो नयाँ अनुभव भने होइन । २६ वर्षको उमेरमै उनी आइ-लिग क्लब मिनेर्भा पन्जाब एफसीको प्रशिक्षक बनिसकेका थिए । खेल्दाखेल्दै प्रशिक्षण कोर्स गर्न सुरु गरेका यानले २५ वर्षमै एएफसी ए लाइसेन्स पाए । त्यसले यानलाई सिनियर टिम हेर्ने ढोका खोलिदियो । 


‘खेलाडीले सन्यास लिनुअगाबै कोचिङ कोर्स गरिसक्नु पर्छ । सन्यास लिएपछि मात्रै सुरु गर्‍यो भने ढिलो भइसक्छ,’ यान भन्छन् । स्थापित हुन खेलाडीलाई पर्याप्त खेल समय चाहिन्छ । प्रशिक्षक पनि त खेलाडी जस्तै हो । उसलाई पनि त ‘गेम टाइम’ चाहिन्छ । ढिलो गरी प्रशिक्षण कोर्स गरे स्थापित हुने समय पर धकेलिन्छ । यान यस्तै भन्छन् । 

प्रशिक्षकका रुपमा यानले उपाधि जितिसकेका छैनन् । तर ३० वर्ष पुग्नुअगावै स्थापित प्रशिक्षक बन्‍नु पनि सानो उपलब्धि होइन नि । त्यसो भए भावी प्रशिक्षकलाई यानको सल्लाह के छ त ? ‘सुरु सधैँ युवा टिमबाट गर्नुपर्छ । जति गल्ती गर्‍यो, उति सिकिने हो । युवा टिम हेर्दा गल्ती भए सच्याउने छुट हुन्छ । एकैपटक सिनियर टिम ताक्नु हुँदैन । त्यहाँ गल्ती भए पद जान्छ । अर्को मौका पाउन गाह्रो हुन्छ । त्यसकारण युवा टिम हेर्दै खारिँदै अगाडि बढ्नुपर्छ,’ यान भन्छन् । यानको आफ्नै करियर पनि त्यसरी नै तय भएको छ । मिनेर्भा पुग्नु अगाडि उनी विभिन्‍न आइ-लिग क्लबका युवा टिम अनि भारतीय फुटबल संघको युवा टोलीसँग रहे । 

प्रशिक्षणमा लाग्नुअघि यान ठीकैको खेलाडी थिए । यद्यपि करियर सुरुवात भने गज्जबको रह्यो । विद्यालयमै छँदा यानले कलकत्ता फुटबल लिग खेल्न थाले । त्यसपछि उनलाई कोलकत्ताकै जर्ज टेलिग्राफले आफ्नो टिममा लियो । उनको यात्रा भारतको अण्डर-१९ टिमसम्म पुग्यो । 

यानको करियरले चाँडै उडान लियो । र, छोटो समयमै अवतरण गर्‍यो । जर्ज टेलिग्राफमा पहिलो रोजाइको खेलाडीबाट ‘बेन्च प्लेयर’ बन्‍न उनलाई धेरै समय लागेन । त्यसपछि उनलाई प्रशिक्षक बन्‍न प्रस्ताव आउन थाल्यो । सामान्यतया खेलाडी आफ्नो ‘पिक’मा पुग्‍ने उमेरमा यान प्रशिक्षक बन्‍न पुगे । ‘भारतीय लिगमा सेन्ट्रल मिडफिल्ड र सेन्ट्रल डिफेन्समा खेल्ने प्रायः विदेशी हुन्थे । त्यसकारण मैले खासै मौका पाइनँ । बरु मलाई प्रशिक्षक बन्‍न प्रस्ताव पो आउन थाले,’ यानले हाँस्दै भने । 

भारतीय फुटबलमा स्थापित यानको नेपाल यात्रा भने अनपेक्षित रह्यो (उनकै शब्दमा) । एनएसएलको हिस्सा बन्‍नसाथ विराटनगरको नजर यानमाथि नै थियो । त्यसकारण उता आइ-लिग सकिँदै गर्दा यताबाट विराटनगरले प्रस्ताव राख्यो । ‘टाइम म्याच भयो । त्यसकारण मलाई नेपाल आउन खासै समस्या भएन । यद्यपि नेपाली क्लबबाट प्रस्ताव आउने अपेक्षा गरेको थिइनँ,’ यानले भने । 

‘मलाई भारतबाट कल आइरहेको छ । धेरै क्लब अनि कोचहरूले नेपाली खेलाडीबारे सोधिरहेका छन् । म धेरैभन्दा धेरै नेपाली खेलाडीले भारतीय लिग खेलून् भन्‍ने चाहन्छु ।’ 

यान नेपाली फुटबलसँग पूरै बेखबर भने थिएनन् । किनभने उनले केही नेपाली खेलाडीसँग भारतीय क्लबमा काम गरिसकेका थिए । जस्तै, किरण चेम्जोङसँग मिनेर्भामा र अभिषेक रिजालसँग मोहम्मडन र अइजवालमा । ‘मैले विगत केही समयदेखि नेपाली फुटबल पछ्याइरहेको थिए । किरण र अभिषेकसँग काम गरिसकेको अनुभव थियो । भारतबाहिर आफूलाई टेस्ट गर्ने मौका पनि हो जस्तो लाग्यो । त्यसकारण म उत्साहित भएँ,’ यानको भनाइ थियो । 

नेपाली खेलाडीको सिक्ने जाँगर र मेहनत देखेर यान दंग छन् । तर उनीहरूले ट्याकल कम गरुन् भन्‍ने चाहना यानको छ । ‘यहाँको फुटबल धेरै फिजिकल छ । एउटै खेलमा १७-१८ वटासम्म फउल हुन्छ । धेरै फउल गर्नु भनेको विपक्षीलाई धेरै फ्रि-किकको मौका दिनु हो । आफूलाई घाटा पुर्‍याउनु हो,’ यान भन्छन् । भारतीय लिग कम फिजिकल रहेको ठान्छन् यान । 

एनएसएलको स्तरबारे पनि यान सकारात्मक छन् । उनी एनएसएल ‘अनप्रेडिक्टेबल’ रहेको मान्छन् । यद्यपि उनको लक्ष्य परिवर्तन भएको छैन । ‘एनएसएलको पहिलो संस्करण हो । पहिलो च्याम्पियनलाई कसैले बिर्संदैन । त्यसकारण हाम्रो लक्ष्य अमर च्याम्पियन बन्‍ने हो,’ यान भन्छन् ।

एनएसएल हाल लिग चरणमै छ । यानको प्रशिक्षणमा विराटनगरले पाँच खेल खेलेको छ । एउटा प्रशिक्षकका लागि खेलाडीको स्तर थाहा पाउन यत्तिको खेल संख्या पर्याप्त हो । त्यसकारण पंक्तिकारले यानलाई प्रश्न तेस्र्यायो । नेपाली र भारतीय लिगमा के फरक छ ? ‘स्तर त उस्तै हो । खेल्ने शैली चाहिँ केही फरक छ । नेपाली खेलाडीहरू बढी लङ बल खेल्छन् । थाहा छैन, किन हो । सायद यहाँको फुटबल स्कुलिङले गर्दा हुनसक्छ,’ यान भन्छन् । तर उनलाई यस्तो शैली उचित लागेको भने छैन । ‘क्लब लेभलमा त एक हदसम्म ठीकै होला । तर राष्ट्रिय टिमले पनि यही शैली पछ्याउने हो भने आफूभन्दा अग्ला विपक्षीसँग कसरी भिड्ने ?’ यानको प्रश्न छ । 

नेपाली खेलाडीहरू प्रतिभाशाली भएको मान्छन्, यान । धेरैजनाले आइ-लिग खेल्न सक्ने यानको ठम्माइ छ । ‘भारतीय लिगहरू व्यावसायिक छन् । आइ-लिग मात्रै होइन, स्टेट लिग खेल्ने क्लबसँग पनि नेपाली खेलाडी अनुबन्धित हुनसक्छन् । करियर विकासमा सहयोग त हुन्छ नै आर्थिकरुपमा लाभ लिन सक्छन्,’ यानको सुझाव छ । 

त्यसो त यानलाई भारतीय क्लब तथा प्रशिक्षकहरूले नेपाली खेलाडीहरूबारे सोधिरहेका छन् । ‘मलाई भारतबाट कल आइरहेको छ । धेरै क्लब अनि कोचहरूले नेपाली खेलाडीबारे सोधिरहेका छन् । म धेरैभन्दा धेरै नेपाली खेलाडीले भारतीय लिग खेलून् भन्‍ने चाहन्छु,’ यान भन्छन् । 

उनी आफैँलाई पनि कयौँ आइ-लिग क्लबले प्रस्ताव राखिरहेका छन् । नयाँ सिजनका लागि । तर यानले निर्णय लिइसकेका छैनन् । त्यसो त उनी भारतबाहिरका क्लब सम्हाल्न पनि तयार छन् । आइ-लिगबाहेक एनएसएल नै उनले अनुभव गरेको पहिलो विदेशी लिग हो । त्यसो भए, के उनी अर्को पटक पनि नेपाल आउन तयार छन् ? ‘म नेपाल फर्कन ओपन छु । प्रोजेक्ट राम्रो हुनुपर्‍यो,’ उनले छोटो उत्तर दिए । 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x