२५ वर्षमा पहिलो पटक युरोपियन फुटबल गुमाउने खतरामा आर्सनल
काठमाडौँ : इंग्लिस प्रिमियर लिगको अंक तालिकामा आर्सनल ९औँ स्थानमा छ । युरोपियन फुटबलमा छनौट हुन कमसेकम शीर्ष ६ मा पर्न जरुरी हुन्छ । तर, प्रिमियर लिग उतार्धमा पुग्दै गर्दा आर्सनल शीर्ष ६ मा पर्ने सम्भावना न्यून छ । यस्तोमा आर्सनललाई युरोपियन फुटबल फर्कन युरोपा लिग विजेता बन्न जरुरी थियो । तर, आर्सनलको युरोपा यात्रा पनि सकिएको छ ।
युरोपा सेमिफाइनलमा आर्सनल भिल्लारियलसँग समग्रमा २–१ ले पछि रह्यो । बिहीबार राति सम्पन्न दोस्रो लेग बराबरीमा टुङगिएपछि भिल्लारियलले युरोपा फाइनलमा स्थान बनायो । भिल्लारियल आर्सनलका पूर्व प्रशिक्षक उनाई एम्रीको नेतृत्वमा खेलिरहेको छ । एम्री पाँचौ पटक युरोपा फाइनल गरेका हुन् । उनै एम्रीले आर्सनलाई सन् २०१९ मा युरोपाको उप–विजेता बनाएका थिए ।
स्पेनी विपक्षीविरुद्ध आर्सनलको प्रदर्शन बिर्सन लायकको रह्यो । पहिलो लेगमा पराजित भइसकेको आर्सनलले दोस्रो लेगमा गोल फर्काउन आवश्यक थियो । तर आर्सनलले खेल अवधिभर १२ पटक आक्रमण बुन्दा दुई वटा प्रहार मात्रै फ्रेममा रहे । जुन आर्सनलको युरेपियन फुटबल खेल्ने सपना जोगाउन पर्याप्त भएन ।
लगातार १७ सिजन च्याम्पियन्स लिग खेलेको आर्सनल चार वर्ष अगाडि युरोपामा झरेको हो । युरोपा युरोपियन क्लब फुटबलमा दोस्रो दर्जाको प्रतियोगिता हो । त्यही दोस्रो दर्जाका लागि पनि आर्सनल लायकको रहेन ।
युरोपाबाट बाहिरिनु मिकेल आर्टेटाका लागि पनि ठूलो ‘सेट ब्याक’ हो । आर्टेटालाई एम्रीलाई प्रतिस्थापन गर्न आर्सनल पुगेका हुन् । तर तीनै एम्रीसँग आर्टेटा दुवै लेगमा कमजोर सावित भए । आर्टेटाले दोस्रो लेगमा आक्रमक पहिलो एघार नउतारेका होइनन् । तर अग्रपंक्ति फिक्का देखियो । आक्रमण बुन्ने जिम्मा लिएका खेलाडीहरुबीच नै संयोजनको अभाव देखियो ।
आर्सनल कप्तान पेयर एमरिक अबुमेयाङले नेतृत्व गरको आर्सनल अग्रपंक्तिमा निकोलस पेपे, एमिल स्मिथ रोउ र मार्टिन ओडेगार्ड थिए । तर उनीहरुले भिल्लारियलको रक्षापंक्ति तोड्न सकेनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया