खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा
सुदूरपश्चिम- छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ । शुक्रबार दोस्रो दिनको खेलमा क्यामरुनको एभिनर फुटबल क्लवले ‘ए’ डिभिजन क्लब खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
धनगढी रंगशालामा शुक्रबार भएको खेलमा विदेशी टोली एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए ।
एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई सेमिफाइनलको यात्रा तय गराए । उनले खेलको ६६ औं र ७२ औं मिनेटमा गोल गरेका थिए ।
एभिनरले सेमिफाइनलमा बागमती युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुने खेलको विजेतासँग खेल्ने छ ।
मोफसलको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।
शनिबार नेपाल पुलिस क्लब र भारतीय क्लब जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया