जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा
कैलाली- विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लब छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई ३–० गोल अन्तरले पेनाल्टी सुटआउटमा पराजित गरेको हो । धनगढी रंगशालामा शनिबार भएको खेलमा पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले आठौं मिनेटमा अग्रता लिएको थियो ।
पुलिसका भोला सिलवालले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।
पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीको पेनाल्टी सफल भयो । विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो । पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ संग प्रतिष्पर्धा गर्नेछ ।
आइतबार क्वाटरफाइनलको खेलमा फ्रेन्ड्स क्लव र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ । मोफसलको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिता १८ गतेसम्म चल्ने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया