खेलकुद

कराते महासंघको अध्यक्षमा राखेपका पूर्व सदस्य सचिव युवराज लामा

इकागज |
चैत १२, २०७९ आइतबार ९:४८ बजे

काठमाडौँ-  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामा नेपाल कराते महासंघको अध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा लामालाई आइतबार निर्विरोध निर्वाचित गरेको हो । महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको छ ।


राखेपले गत माघ १२ गते ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

लामा अघिको तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न नसकेपछि राखेपले करातेका पूर्व खेलाडी लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको हो ।

त्यसबेला लामाले अध्यक्षको पत्र ग्रहण गरेपछि राखेपले दिएको समय सीमा भित्रै विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन् । दावा गुरुङले महासचिव, ध्वजमान मोक्तान र बलराम मित्रले सचिव तथा किशोरप्रसाद भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाए ।

रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन भए ।

महासंघको आइतबारै बसेको बैठकले २ सदस्य र ५ सल्लाहकार मनोनयन गरेको छ । कमला राना र सन्जयकुमार राई सदस्यमा मनोनित भए । दिपेश शाक्य, विष्णु कार्की, निवासगोपाल वैद्य, हरि विष्ट र गणेश कार्कीलाई सल्लाहकारमा चयन गरेको राखेपअन्तर्गत कानून शाखाका प्रमुख एवं निर्वाचन अधिकृत नारायणराज अर्यालले जनाएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लल पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

साधारणसभामा केन्द्रीय कार्यसमिति, सात प्रदेश तथा सितोरियो, वादोरियो, सोतोकान र गोजुरियाका गरी ६७ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन प्रमुख अर्यालले जानकारी गराए ।


Author

थप समाचार
x