खेलकुद

थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश

इकागज |
चैत १२, २०७९ आइतबार २१:५३ बजे

कैलाली- थ्री स्टार क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । 

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो । थ्री स्टारका लागि खेलको ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन् । खेलको एसपीए ‘म्यान अफ दी म्याच’ दिपेश गुरुङ घोषित भएका छन् । 


जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ । थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । खेल चैत १६ गते हुनेछ । 

प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । 

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गरेको हो । 

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।


Author

थप समाचार
x