खेलकुद

एनएसएल : ललितपुर प्लेअफमा, विराटनगरको यात्रामा पूर्णबिराम

इकागज |
बैशाख २५, २०७८ शनिबार १७:३० बजे

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) को रोमाञ्‍चकता शनिबार उत्कर्षमा पुग्यो । प्रतियागितामा बलियो सुरुवात गरेको विराटनगर सिटी एफसी लिग चरणबाट बाहिरिदा ललितपुर सिटी एफसीले प्लेअफमा स्थान बनायो । लगातार दोस्रो पराजय भोगेपछि विराटनगरको एनएसएल यात्रामा पूर्णबिराम लाग्यो । उता मुख्य प्रशिक्षक बर्खास्त गरेको ललितपुरले प्रतियोगिताको दोस्रो जित दर्ता गर्‍यो । 

पछिल्लो खेलमा काठमाडौँ रेजर्स एफसीसँग पाँच गोल खाएको विराटनगरको रक्षापंक्ति ललितपुरविरुद्धको खेलमा पनि कमजोर रह्यो । सुरुवाती पाँच खेलमा तीन गोल गरेको ललितपुरले विराटनगरको पोस्टमा चार गोल गर्‍यो । 


ललितपुरको जितमा कप्तान अञ्‍जन विष्टले दुई गोल गरे । उनले ३६ औँ र ८१ औँ मिनेटमा गोल गरे । त्यस्तै विजयी टिमका लागि विमल राना र विदेशी खेलाडी नुर्लान जाहिदले समान एक गोल गरे । 

रेफ्रीको निर्णयमा विमती जनाउदै केहीबेरका लागि मैदान छाडेको विराटनगर ८४ औँ मिनेटपछि १० खेलाडीमा सिमित भयो । विराटनगरका विजय धिमाल दोहोरो पहेलो कार्डका कारण मैदान छाड्न बाध्य भएका थिए । 

विराटनगरमाथि जित दर्ता गरेपछि ललितपुरले छ खेलबाट नौ अंक बनायो र तेस्रो स्थानमा उक्लियो । त्यस्तै, विराटनगर भने सात अंकमा सिमित भयो । र, पाँचौँ स्थानमा झर्‍यो । एनएसएलको प्लेअफमा यसअघि नै धनगढी एफसी र काठमाडौँ रेजर्सले स्थान पक्का गरिसकेका छन् । 

अब लिगमा शीर्ष दुईमा रहने टोलीबीच पहिलो प्लेअफ खेल हुनेछ । विजयी  टिम फाइनल प्रवेश गर्नेछ । त्यस्तै, पराजित टिमले तेस्रो तथा चौँथौँ हुने टिमबीचको विजेताको सामना गर्नेछ । फाइनल खेल जेठ १ मा दशरथ रंगशालामा हुनेछ ।  


Author

थप समाचार
x