खेलकुद

मनाङ मर्स्याङ्दी खप्तड गोल्डकपको फाइनलमा

इकागज |
चैत १५, २०७९ बुधबार १९:१४ बजे

मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

भिसा प्रकृया नपुगेको कारण क्यामरुनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो । 


मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रिक गोल गरे । मनाङका लागि खेलको १२ औं मिनेटमा जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सिमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो । 

पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको दुर्ब्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्‍यो। त्यसको केही मिनेटपछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टिम सात जनामा सिमित रहन पुगेको थियो । 

खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । यस्तै ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरे । 

क्यामरुनले आज ४ खेलाडीको अनुपस्थितिमा पनि  मैदानमा केही अवसर बनायो तर गोल गर्न सकेन । 

मनाङका सायीजमलले आजको खेलको ‘ म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते ।

जितसँगै मनाङ चैत १८ गते हुने फाइनल खेल्ने छ । बिहीबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लवबीचो दोस्रो सेमिफाइनलको विजेतासँग मनाङले उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनल खेल बिहीबार दिउँसाे ३ः३० बजे सुरु हुनेछ । 

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

 


Author

थप समाचार
x