खेलकुद

टुचेलले चेल्सीलाई कसरी परिवर्तन गराउन सके ?

इकागज |
बैशाख २६, २०७८ आइतबार ७:१० बजे

काठमाडौँ : थोमस टुचेल आएपछि चेल्सी बलियो बनेको छ । मैदानमा देखिएको खेल र नतिजाले यही भन्छ । टुचेल चेल्सी प्रशिक्षक बनेको १४ साता भयो । यसबीचमा उनले लन्डन क्लबमा कमाल गरेका छन् । दिशाविहिन चेल्सीलाई उनले च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएका छन् । एफए कपको उपाधि नजिक पुर्‍याएका छन् ।
 
टुचेलले चेल्सीमा छोटो समयमा बलियो छाप छोडेका छन् । टुचेलले सुरुवाती सफलता कसरी प्राप्त गरे ? यस आलेखमा केलाउने प्रयास गरिनेछ । 

रक्षापंक्तिमा सुधार 
टुचेल जनवरी २६ मा स्टाम्फोर्ड ब्रिज पुगे । त्यसयता चेल्सीले १९ खेलमा क्लिनसिट राखेका छन् । टुचेल आएपछि चेल्सीले लिगमा लिभरपुल, टोटनहम, म्यानचेस्टर युनाइटेडजस्ता क्लबसँग भिडेको छ । ती कुनै पनि खेलमा चेल्सीले गोल खाएको छैन । टुचेलको प्रशिक्षणमा चेल्सीको रक्षापंक्तिमा व्यापक सुधार आएको छ । रक्षकहरू आत्मविश्‍वासी देखिन्छन् । 


सुहाउँदो खेल शैली 
एन्टोनियो कोन्टे प्रशिक्षक हुँदा चेल्सीले ३–४–३ संरचनामा खेल्थ्यो । माउरिजियो सारीले पनि प्राय खेलमा तीन सेन्ट्रल हाफ प्रयोग गर्थे । टुचेलले आफ्ना पूर्ववर्तीहरूकै शैली पछ्याएका छन् । यस्तो संरचनाले चेल्सीमा भएका रक्षकहरूको सही उपयोग भएको छ ।  

रोटेसन
फ्रान्क लाम्पार्डले मार्कस अलन्सोलाई पर्याप्त मौका दिएनन् । टुचेलको आगमनसँगै उनै अलन्सो चेल्सीको टिममा फर्किएका छन् । टुचेलले अर्का लेफ्टब्याक बेन चिलवेललाई पनि खेलाइरहेका छन् । तर अलन्सोको भूमिका खुम्चिएको छैन । अलन्सो मात्रै होइन, चेल्सीमा अन्य बेन्च खेलाडीहरूले पनि मौका पाइरहेका छन् । कारण ? टुचेलले टिममा गर्ने ‘रोटेसन’ । टुचेलको यस्तो शैलीले चेल्सीको ‘डे«सिङ रुम’ एकताबद्व भएको छ । 

एनगोलो कान्टे
फ्रान्क लाम्पार्डको चेल्सी टिममा पनि एनगोलो कान्टे मुख्य खेलाडी नै थिए । टुचेलका लागि पनि उनी नै प्रमुख रोजाइका मिडफिल्डर हुन् । त्यसो त टुचेल ३–४–३ को संरचनामा उस्तै प्रकृतीका दुई सेन्ट्रल मिडफिल्डर खेलाउन रुचाउँछन् । जसको मुख्य जिम्मेवारी भनेको विपक्षीबाट बल खोस्‍ने र पोसेसन कायम गर्ने हुन्छ । टुचेलको टिममा कान्टेको भूमिका त्यही नै हो । जसमा उनी पोख्त छन् ।  

दबाबरहित टुचेल
टुचेलले चेल्सीमा १८ महिनाका लागि सम्झौँता गरेका छन् । चेल्सी प्रशिक्षक परिवर्तन गर्न माहिर छ । त्यसकारण जतिसुकै लामो अवधिको सम्झौँता भए पनि प्रशिक्षक चेल्सीमा सुरक्षित रहँदैनन् । टुचेलको हकमा पनि चेल्सीको नीति त्यही हो । 

यद्यपि टुचेल आफ्नो भविष्यप्रति चिन्तित छैनन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) को बर्खास्तीमा परेका टुचेलले चेल्सीमा आफूले कुनै किसिमको दबाब महसुस नगरेको बताइसकेका छन् । चेल्सीमा दबाब महसुस नगर्नु भनेको कुनै पनि प्रशिक्षक बर्खास्तीबाट नडराउनु हो । टुचेल त्यही पथमा छन् । टुचेल चिन्तारहित हुनु भनेको चेल्सी मैदानमा सफल हुने लक्ष्यतर्फ अघि बढ्नु पनि हो ।  


 


Author

थप समाचार
x