खेलकुद

सुखद नतिजाको अपेक्षा लिएका छौं : प्रशिक्षक थापा

इकागज |
चैत २१, २०७९ मंगलबार २०:२४ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले पेरिस ओलम्पिक महिला एसिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पाहुना टोली भियतनामसँग सुखद नतिजाका लागि खेल्ने बताएका छन् ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजना भएको खेलअघिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक थापाले फिफा वरियतामा नेपालभन्दा निकै माथि रहेको टोलीविरुद्ध राम्रो प्रदर्शन गर्दै सुखद नतिजाका लागि खेल्ने बताए । बलियो टोलीविरुद्ध खेल्दा अनुभवी खेलाडीद्वय गीता राना र प्रिति राई चोटका कारण मैदान बाहिर रहे पनि टोलीमा अन्य राम्रा खेलाडी भएको र उनीहरूको अनुपस्थितिमा पनि टोलीले राम्रो खेल्ने बताए ।


पछिल्लो पटक भारतसँगको मैत्रीपूर्ण खेलमा हासिल गरेको उपलब्धिले टोलीमा खेलाडीलाई निकै सकारात्मक वातावरण मिलेको र उक्त खेलबाट टोलीको सबल र दुर्बल दुवै पक्ष निर्धारण भइ सुधार्ने प्रयास गरेको प्रशिक्षक थापाले बताए । भियतनामसँग हुने दुई खेलबाट नेपाली टोली राम्रो टोलीका रूपमा प्रमाणित गर्ने अवसर भएको समेत प्रशिक्षक थापाले थपे ।

नेपालमा आयोजना हुन लागेको छनोट खेलका लागि सोमबार पाहुना टोली भियतनाम नेपाल आइपुगेको छ । नेपाल र भियतनाम सम्मिलित टोलीमा प्यालेस्टाइन र अफगानिस्तान रहे पनि अन्तिम समयमा दुई टोलीले आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएपछि दुई टोलीबीच मात्र प्रतिष्पर्धा हुन लागेको हो ।

छनोट अन्तर्गत समूह सी मा नेपाल र भियतनामले प्रतिष्पर्धा गर्न लागेका हुन् । छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पहिलो खेल नेपालले भियतनाम चैत २२ र २५ गते खेल्नेछ । दुवै खेल साँझ ६ बजेबाट हुनेछन् । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।


Author

थप समाचार
x