खेलकुद

सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप : बर्दियाको नव युवा मैत्री भाव क्लब सेमिफाइनलमा

इकागज |
चैत २४, २०७९ शुक्रबार १९:५१ बजे

सुदूरपश्चिम- बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी बर्दिया ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो । बाँकेको कोहलपुर रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ । 

शुक्रबार भएको खेलमा निर्धारित समय भित्र दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो । पेनाल्टीमा बर्दियाका तर्फबाट योगेश थापा, चिरण कार्की र अभिषेक बमले गोल गर्न सफल भए । कञ्चनपुरका तर्फबाट शिव वोटे र अञ्जन बोगटी मात्र गोल गर्न सफल भए । 


प्रतियोगिता अन्तरगत शनिबार सेमिफाइनल प्रवेशका लागि कैलाली र आयोजक प्रतिस्पर्धा गर्नेछन् । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको गरी १० टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेता लाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइने छ ।
 


Author

थप समाचार
x