खेलकुद

पेरिस ओलम्पिक २०२४ को छनोट

नेपाल दोस्रो खेलमा पनि पराजित

इकागज |
चैत २५, २०७९ शनिबार २०:२२ बजे

काठमाडौँ- पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एसियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो । यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ । फिफा वरियताको ३३ औं स्थानमा रहेको बलियो भियतनामसँग पहिलो खेलमा ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध हुन पुगेको हो । घरेलु मैदानमा आयोजना भएको खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो ।


सुरुवात १० मिनेटमा नै २ गोलले पछि परेको नेपालले पहिलो हाफको अन्त्यतिर केही राम्रो प्रदर्शन गर्दै खेलमा फर्किने संकेत देखाए पनि असफल रह्यो । पहिलो हाफमा २–० को अग्रता लिने क्रममा भियतनामकी फाम हायी यनले गरेकी हुन् । खेलको छैठौं मिनेटमा यनको गोलमार्फत भियतनामले अग्रता लिएको थियो ।

नेपाली टोलीको रक्षा पंक्तिले किलियर गर्न नसकेको बललाई यनले जाली चुमाउन सफल भएकी थिइन् । त्यसको एक मिनेटपछि नै यनले टोलीको अग्रता दोब्बर बनाइन् । ट्रान थि ठु थाओको क्रसमा तीन नेपाली रक्षहरूको बीचबाट आकर्षक शैलीमा बललाई नियन्त्रणमा राख्दै उत्कृष्ट गोल गरिन् । २३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षक खोंग थि हांगले जोगाइन् । ३९ औं मिनेटमा सावित्रा वान भर्सेस वान अवस्थामा चुकिन् ।

पहिलो हाफमा २–० ले पछि परेको नेपालले खेलमा फर्किन निकै संघर्ष गरे पनि अन्तर घटाउन असफल रह्यो । घरेलु टोलीविरुद्ध सहज जित निकालेको भियतनाम लगातारको सफलतापछि दोस्रो चरणमा प्रवेश गरेको छ । 


Author

थप समाचार
x