आयोजकलाई पराजित गर्दै स्टार सिटी क्लब गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा
सुदूरपश्चिम- स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ८ औँ मिनेटमै स्टार सिटीका कमल देउवाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा रहेको खेलमा ७५ औँ मिनेटमा आयोजक गौरीगङ्गाका नीराजन धामीले १ गोल फर्काएपछि खेल बराबरीमा सकियो ।
टाइब्रेकरमा स्टार सिटीका कुशल देउवा, माधव भण्डारी, किरण बोहरा र विष्णु चौधरीले गोल गरे । गौरीगंगा स्पोर्ट्सका तर्फबाट प्रकाश बोहरा, भरत बोगटी र सन्दीप कडायतले मात्र गोल गर्न सके ।
प्रतियोगिता अन्तरगत आइतबार बाजुरा र नवलपरासी आमनेसामने हुनेछन् । विजेता टोली अन्तिम चारमा पुग्ने छ । स्टार सिटीसँगै बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसेका छन् ।
‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया