खेलकुद

कसरी ओरालो लाग्यो साल्का ?

इकागज |
बैशाख २७, २०७८ सोमबार ६:२३ बजे

काठमाडौँ : साल्काले सात पटक जर्मन बुन्डेसलिगा जितेको छ । स्थापनाकाल देखि १९९१ को बीचमा । त्यसपछिका वर्षमा साल्का जर्मन च्याम्पियन बन्‍न सकेको छैन । तर केही पटक उप-विजेता भने भएको छ । जस्तै सन् २०१७-१८ सिजनमा ।

पछिल्ला दुई सिजन साल्काका लागि खराब रहे । अंक तालिकामा साल्का १४ औँ र १२ औँ स्थानमा सिमित भयो । यसपटक त साल्का झनै खराब अवस्थामा पुगेको छ । ३१ खेलबाट १३ अंक बटुल्दै बुन्डेसलिगाको पुच्छारमा छ । र, रेलिगेसनमा पर्ने पक्का भइसकेको छ ।


साल्का यो अवस्थामा आइपुग्‍नुको कारण के हुनसक्छ? प्रश्न उठ्छ । यसको उत्तर साल्काले विगतमा लिएको निर्णयहरूलाई विश्लेषण नगरी प्राप्त हुँदैन । कतिवटा निर्णयलाई विश्लेषण गर्ने भन्‍ने प्रश्न पनि छ । साल्काले दुई वर्षअघि डेभिड वाग्‍नरलाई प्रशिक्षक बनायो । उनीपछि क्लबमा चार नयाँ प्रशिक्षक आइसकेका छन् । त्यसोभए साल्केमा समस्या वाग्‍नरलाई जिम्मेवारी दिएपछि सुरु भएको हो ? 

२०१७/१८ सिजनमा साल्का बुन्डेसलिगामा दोस्रो स्थानमा रह्यो । साल्कालाई लिग उप-विजेता बनाउने प्रशिक्षक थिए डोमेनिको टेडेस्को । तर १० महिनापछि उनलाई जिम्मेवारी मुक्त गरियो । उनलाई बर्खास्त गर्ने ब्यत्ति थिए, क्रिस्टियन हेइडल । जो सन् २०१६ मा साल्काको प्रमुख कार्यकारी अधिकृत बने । प्रश्न उठ्न सक्छ, हेइडल नियुत्ति साल्का पतन हुनुको मुख्य कारण हो ? 

कि १० वर्षअघि राल्फ रागनिकले छाडेपछि साल्का ओरालो लाग्‍न सुरु गरेको हो ? राग्‍निकले साल्कामा एक वर्ष भन्दा कम समय बिताए । तर उनको पालामा साल्का च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्यो । अनि डीएफबी पोकल कप पनि जित्यो । साल्काले पछिल्लो पटक जितेको उपाधि नै त्यही हो । 

साल्का लामो समयसम्म खराब नेतृत्वबाट चल्दै आएको क्लब हो । साल्काले लगातार गलत निर्णय पनि गरिरह्यो । विशेषगरी सरुवा बजारमा । सरुवा बजारमा साल्काको नेतृत्व गरे हेइडलले । पूर्व कार सेल्सम्यान रहेका हेइडल तीनै ब्यक्ति हुन जसले योर्गन क्लपलाई मेन्जको प्रशिक्षक बनाएका थिए । हेइडनले साल्कामा खेलाडी पहिचान गर्ने तरिका बदले । भएका स्काउटहरूलाई बर्खास्त गरे । र, विश्वका विभिन्‍न लिग पछ्याउने विद्यार्थीहरूलाई खेलाडी पहिचान गर्ने जिम्मा दिए । उनीहरूकै सिफारिसमा खेलाडी खरिद गरे ।   

हेइडलल थोरै स्थान्तरण रकम खर्च गरेर राम्रा खेलाडी अनुबन्ध गर्न माहिर थिए । तर उनले ठूलो रकम खर्च गरी साल्का लगेका खेलाडी भने चलेनन् । जस्तै, ब्रिल इम्बोलो, नबिल बेन्टालेब र येभेन कोनोपल्यान्का । इम्बोले धेरै पटक घाइते भए । बेन्टालेबले ड्रेसिङ रुममा समस्या खडा गर्ने गर्थे । कोनोपल्यान्काले ५६ लिग खेल खेल्दा छ गोल गरे । साल्काले बेलायतबाट रब्बी माटोन्डालाई जर्मन लिगमा लग्यो । त्यसबखत १८ वर्षका रहेका विङ्गर माटोन्डालाई अनुबन्ध गर्न ११ मिलियन पाउण्ड खर्च गरियो । तर युवा माटोन्डाको साल्का बसाइ सफल हुन सकेन ।  

बायर्न म्युनिखबाट गएका सेबस्टियन रुडी पनि साल्काका लागि उपयोगी सावित भएनन् । उनी बायर्नमै पनि प्रभावकारी देखिएका थिएनन् । सन् २०१८ मा साल्काले खरिद गर्दा २९ वर्ष रहेका रुडी प्रशिक्षक टेडेस्कोको आक्रमक रणनीतिमा फिट भएनन् । 

आफ्नो डेब्यु सिजनमा टेडेस्काले साल्कालाई बुन्डेसलिगा उप-विजेता बनाए । तर त्यस उपलब्धिले साल्का बोर्डलाई सन्तुष्ट बनाएन । काउण्टर अट्याक रणनीति अपनाइरहेका टेडेस्कोलाई ‘सुन्दर फुटबल’ खेलाउन भनियो । पोसेसनमा ध्यान दिन भनियो । नयाँ खेल शैलीमा रुडीलाई मुख्य खेलाडी बनाइयो । तर साल्काको यस्तो रणनीति सफल भएन । नयाँ सिजन सुरु हुँदा साल्काले लगातार पाँच खेलमा पराजय भोग्यो । त्यसपछि टेडेस्को रक्षात्मक शैलीमा फर्किए । तर साल्काको खराब लय रोकिएन । साल्का बोर्डको दबाब थेग्‍न नसकेपछि हेइडलले राजिनामा दिए । अनि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग सात गोल खाएपछि प्रशिक्षक टेडोस्कोलाई हटाइयो । 

साल्कामा नयाँ स्र्पोटिङ निर्देशक, टेक्निकल निर्देशक र प्रशिक्षक नियुक्त गरियो । प्रशिक्षक बनेर आएका डेभिड वाग्‍नरले साल्कामा परिवर्तन ल्याउने अपेक्षा गरियो । तर वाग्‍नर पनि टेडेस्को भन्दा फरक देखिएनन् । सुरुवातमा आक्रमक फुटबल खेलाए पनि वाग्‍नर अन्ततः रक्षात्मक शैली अपनाउन बाध्य भए । वाग्‍नरले साल्काको ड्रेसिङ रुमलाई पनि सम्हाल्न नसक्ने स्थितीमा पुगे । बायर्न जाने सहमती गरे वापत अलेक्सान्डेर नुबेललाई पहिलो रोजाईको गोलरक्षकबाट घटुवा गरियो । तर मार्कस सुबेर्टले अत्याधिक गल्ती गरेपछि उनै नुबेल पहिलो एघारमा फर्किए । बेन्टालेब टिमबाट बाहिर र भित्र रहने क्रम चलिरह्यो । पहिलो पटक ठूलो लिगमा खेल्ने क्लबको प्रशिक्षण सम्हालिरहेका वाग्‍नरमा अनुभवको कमी देखियो । 

कोभिड-१९ का कारण रोकिएको बुन्डेसलिगा फेरि सुरु हुँदा साल्का फितलो देखियो । खेलाडीहरूको फिटनेसमाथि प्रश्न उठ्यो । फिटनेस कोच रहेका बब स्कुुस र क्लाउस लुइसेरलाई हटाइयो । ५८ वर्षिय वेरनर लेथार्ड साल्के फर्किए । तर उनको अभ्यास गराउने शैलीले साल्काका खेलाडीहरूको फिटनेसमा सुधार आएन । त्यसैबीचमा साल्का अध्यक्ष क्लेमेन्स टोन्‍निसले राजीनामा दिए । साल्कामा टोन्‍निसको प्रभाव गहिरो थिए । उनी खेलाडी छनौटसम्ममा हस्तक्षेप गर्थे । तर उनको बर्हिगमनले साल्कामा कुनै परिवर्तन भने ल्याएन । बरु साल्काको बोर्डमा फुटबल बुझेका कोही रहेनन् । 

साल्काले २०२०-२१ सिजन पनि वाग्‍नरकै नेतृत्वमा सुरु गर्‍यो । पहिलो खेलमा विपक्षी थियो बायर्न । साल्काले लज्जासपद पराजय भोग्यो । आठ गोल खाँदा एक पनि फर्काएन । दोस्रो खेलमा वेर्डर ब्रेमनसँग ३-१ ले हार्‍यो । नयाँ सिजनमा लगातार दोस्रो हार ब्यहोरेपछि वाग्‍नरलाई बिदा गरियो । अनि आइपुगे म्यानुएल बाउम । जसले धेरै क्लबलाई ‘रेलिगेसन ब्याटल’ मा सफल बनाएका थिए । तर भताभुङग् साल्कामा बाउमले केही गर्न सक्ने अवस्था थिएन । बउम बरु क्लबमा रहेका पाका स्ट्राइकर भेदाद इबिसेभिचसँग भिड्न पुगे । इबिसेभिचलाई क्लबबाट हटाइयो । तर इबिसेभिचसँग भिड्ने बउम पनि साल्कामा धेरै टिकेनन् । साल्काले बउमलाई बर्खास्त गरेपछि इबिसेभिचलाई क्लबमा फर्कन आग्रह गर्‍यो । बोस्नियन स्ट्राइकरले साल्काको प्रस्ताव इन्कार गरे । 

साल्काले स्टुटगार्ट र टोटनहमका पूर्व प्रशिक्षक क्रिस्टियन ग्रोसलाई प्रशिक्षकमा नियुक्त गर्‍यो । स्विस प्रशिक्षकले साल्कामा स्थिरता ल्याउन नखोजेका होइनन् । तर उनको परम्पारिक शैलीले साल्कामा काम गर्न सकेन । उनी आफ्नै खेलाडीको नाम समेत याद राख्न सक्दैन थिए । एकपटक त उनले साल्काको अभ्यास मैदान जाने बाटो नै भुले । गत मार्चसम्ममा साल्का जर्मनीको पहिलो श्रेणीको लिगबाट घटुवा हुने पक्का भइसकेको थियो । पछिल्ला सात लिग खेल साल्काले नयाँ प्रशिक्षक डिमिट्रियोस ग्राम्मोजिसको प्रशिक्षणमा खेलेको छ ।

तर ग्रिसका ग्राम्मोजिसले साल्कालाई जम्माजम्मी एक खेलमा विजयी बनाएका छन् । जे होस साल्के सन् १९८८ पछि पहिलो पटक बुन्डेसलिगाबाट तल झर्दैछ । यो सामान्य घटना होइन । किनभने साल्का जर्मनीका धनी क्लबमध्येको एक हो । 

हो, साल्का फेरि बुन्डेसलिगा फर्कने प्रयासमा हुनेछ । साल्कासँग अहिले नयाँ स्र्पोटिङ निर्देशक र टेक्निकल निर्देशक छन् । दोस्रो श्रेणीको यात्राका लागि प्रशिक्षक नयाँ हुनेमा शंका छैन । यद्यपि क्लबको बजेट भने घट्नेछ । बुन्डेसलिगा टु साल्काका लागि मौका हो । विगतमा गरेका गल्ती सच्याउने । साल्कामा नयाँ निर्णय गरिने छन् । तर ती निर्णयले साल्कालाई पहिलो श्रेणीमा फर्काछन् भन्‍ने ग्यारेन्टी छैन । 

उता हेइडल भने मेन्ज फर्केका छन् । भूमिका उही पुरानै हो, स्र्पोटिङ निर्देशकको । मेन्जमा क्लप र थोमस टुचेललाई मौका दिएका हेइडलले फेरि नयाँ प्रतिभाको पहिचान गरेका छन् । जसको नाम हो बो सेभेनसोन । डेनिस मुलका सेभेनसोन मेन्जकै पूर्व खेलाडी हुन् । सेभेनसोन गत जनवरीमा बुन्डेसलिगा फर्कदा मेन्ज १७ औँ स्थानमा थियो । सेभेनसोनको नेतृत्वमा मेन्जले २९ अंक बटुलेको छ । र, रेलिगेसनबाट सुरक्षित भइसकेको छ ।   
दी एथ्लेटिकबाट 


Author

थप समाचार
x