उपमेयर कप भलिबलको उपाधिः पुरुषतर्फ ११ र महिला तर्फ १९ वडालाई
फाइल फोटो
मकवानपुर - मकवानपुरको हेटौंडामा जारी उपमेयर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि हेटौंडा १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले हात पारेको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा भएको पाँचौं संस्करणको उपमेयर कप अन्तरगत बुधबार हेटौंडा–१२, पदमपोखरीस्थित बुद्ध माविको भलिबल कोर्टमा भएको फाइनल खेल भएको हो । प्रतियोगिताको फाइनलमा १९ नम्बर वडाले ९ नम्बर वडालाई ३–२ को सेटमा पराजित महिलातर्फको उपाधि जितेको हो । यस्तै पुरुषतर्फको फाइनल खेलमा ११ नम्बर वडाले १९ नम्बर वडालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको छ ।
महिलातर्फको फाइनल खेलमा पहिलो सेट २०–२५ ले आफ्नो पक्षमा पारेर सुखद् सुरुवात गरेको ९ नम्बर वडाले दोस्रो सेट २५–२१ ले १९ नम्बरलाई सुम्पियो । तेस्रो सेटमा १६–२५ उत्कृष्ट नतिजा निकालेको ९ नम्बर चौथो सेटमा २५–२२ ले पछि पर्यो । अन्तिम तथा पाँचौ सेट पनि निक्कै प्रतिस्पर्धात्मक बन्यो । अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै १९ नम्बर वडाले उपाधि चुमेको हो ।
यस्तै पुरुषतर्फको फाइनल खेलमा सुरुवाती दुई सेट आफ्नो पक्षमा पारेको ११ नम्बर वडाले तेस्रो र चौथो सेटमा हार व्यहोरेपछि उपाधिको छिनोफानो गर्न पाँचौ सेट पनि खेल्नु परेको थियो । पहिलो र दोस्रो सेट क्रमशः १९–२५ र २१–२५ ले गुमाएको १९ नम्बर वडाले तेस्रो र चौथो सेट २५–१८ र २५–२१ ले आफ्नो पक्षमा पार्दै उपाधिको दावी कायमै राखेको थियो । अन्तिम सेट १५–११ ले आफ्नो पक्षमा पार्दै ११ नम्बर वडाले उपाधि जितेको हो ।
मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगर भलिबल संघको सहआयोजना भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता टिमले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा पुरुषतर्फ १० वटा टिम र महिलातर्फ ९ वटा टिमको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया