खेलकुद

ओरालो लाग्दै गरेको जर्मन टीममा प्रशिक्षक परिवर्तन गर्ने समय आएको हो ?

इकागज |
मंसिर ३, २०७७ बुधवार १३:४८ बजे

नेसन्स लिगमा मंगलबार जर्मनीले स्पेनसँग ६-० को लज्जासपद पराजय भोग्यो । यो नतिजाले प्रशिक्षक योकिम लो र उनका खेलाडीहरुलाई आलोचित त बनाउने भयो नै । साथै सन् २०१४ को विश्वकप विजेता पछिल्ला वर्षहरूमा कती खस्केको छ भन्ने पनि देखायो । 

स्पेनको ला कार्टुयामा भएको खेलमा जर्मनीले घरेलु टोलीसँग खराब खेल प्रर्दशन गर्‍यो । त्यो पनि पहिलो मिनेटबाटै । जर्मन खेलाडीहरु प्रत्येक पक्षमा कमजोर देखिए । रक्षापंतिदेखि आक्रमण गर्ने सम्मका कार्यमा । खेलपश्चात जर्मनीका विङ्गर सर्ज गानाब्रीले आफ्नो टोली स्पेनको अगाडी टिक्नै नसकेको स्वीकार गरे ।  'हामीले केही पनि गर्न सकेनौ । न त बलमै नियन्त्रण जमाउन सक्यौ न त उनीहरुको आक्रमण नै निस्तेज पार्न । उनीहरु हामी भन्दा धेरै नै बलियो देखिए,' बार्यन म्युनिखका गानाब्रीले युइएफएको वेभसाईटसँग कुरा गर्दै भने । 


मंगलबारको नतिजा जर्मनीका लागि कुनैपनि प्रतियोगितामा प्राप्त सबैभन्दा खराब नतिजा थियो । सेभियामा जर्मनी ३८ औ मिनेट भित्रै ३-० ले पछि गर्‍यो । सन् २००६ यता जर्मनी पहिलो पटक कुनै पनि खेलको पहिलो हाफमै तीन गोलले पछि परिरहेको थियो ।  

जर्मनीको रक्षपंति त खराब देखियो नै । आक्रमण सम्हालिरहेका खेलाडीहरुले पनि चित्तबुझ्दो खेल्न सकेनन् । 'स्पेनले हामीलाई कसरी विपक्षीको पोस्टमा आक्रमण गर्ने भनेर पाठ सिकायो,' मिडफिल्डर टोनी क्रुसको प्रतिक्रिया थियो । 

प्रशिक्षक लोले आक्रमणको जिम्मा गानाब्री, लेरो साने र टिमो बारनर जस्ता प्रभावशाली यूवा खेलाडीहरुलाई दिएका थिए । तर उनीहरूले पुरा ९० मिनेट भरी स्पेनको पोस्टमा दुई पटक मात्र आक्रमण गर्नसके । 

अझ जर्मनीका लागि डिफेन्डहरुले त झनै खराब खेले । फुलब्याक बनेर खेलिरहेका मथियस जिन्टर र फिलिप म्याक्सले स्पेनका खेलाडीहरुलाई मार्क गर्न नसक्दा यसै सिजन म्यानचेस्टर सिटी पुगेका डानी ओल्मोले सजिलै तीन गोल गरे । उता जर्मन रक्षापंतिको केन्द्रमा रहेका रोबिन कोच र निकलस सुल पनि आ-आफ्नो भूमिकामा चुके । न त उनीहरुले फुलब्याकहरुलाई सहयोग गर्न सके न त स्पेनका स्ट्राइकर अल्भारो मोराटालाई नै रोक्न सके । प्रत्येक पटक स्पेनले आक्रमण बुन्दा जर्मनीले गोल खानै लागेको देखिन्थ्यो । स्पेनले पहिलो हाफमा मात्र स्पेनको पोस्टमा १४ पटक आक्रमण गर्‍यो । जबकी त्यती नै समयमा स्पेनले जर्मनीको पोस्टमा एकपटक मात्र प्रहार गर्न सक्यो । 

जितसँगै स्पेन नेसन्स लिगमा समूह चारको विजेता बन्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्‍यो । यता जर्मनी भने छ खेलबाट नौ अंक बनाउदै दोस्रो स्थानमै सिमित भयो । जर्मनीले खेल बराबरी मात्रै गरेको भएपनि अन्तिम चारमा पुग्‍ने थियो । यसअघिनै फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा पुगिसकेको छ ।
    
त्यसो त मंगलबारको नतिजापछि मात्रै जर्मनी ओरालो लाग्दैछ भन्ने निचोडमा पुगिएको होइन । वास्तवमा लो नेतृत्वको जर्मन टीम सन् २०१८ को विश्वकप पछिनै खस्किदै गइरहेको छ । रुसमा सम्पन्न विश्वकपको पहिलो चरणबाटै घर फर्किएपछि जर्मनीले आफ्नो टीममा परिवर्तन गर्दै नयाँ अनुहारलाई मौका दिने र पाका खेलाडीलाई बिदा दिने नीति बनायो । जसअनुरुप, थोमस मुलर, माट ह्युमल्स र जेरोमी बोएटेङ जस्ता खेलाडीहरु टीमबाट बाहिरिए । 

तर फेरिएको जर्मन टीमले सोचे अनुरुपको नतिजा दिनसकिरहेको अवस्थामा मुलर, ह्युमल्स र बोएटेङलाई फिर्ता बोलाउनुपर्छ भन्ने आवाज उठिरह्यो । र मंगलबारको नतिजापछि यो आवाज थप बलियो हुने देखिएको छ । अनि कतिपयले, प्रशिक्षक नै परिवर्तन गर्नुपर्छ भन्ने धारण व्यक्त गर्नेछन् । त्यसो त यस्तो धारणा गत विश्वकपपछि सुनिँदै आएको हो । 

विश्वकपपछि फेरिएको जर्मन टीममा विश्वस्तरिय खेलाडीहरु नभएका होइनन् । तर उनीहरु स्पेनविरुद्धको खेलमा स्कूले खेलाडी जस्तो देखिए । यस्तो अवस्थामा लोले यी खेलाडीहरुका लागि सुहाउँदो योजना बनाउन नसकेकै हो की भन्ने प्रश्न त उठ्ने नै भयो । 
  
जर्मनीले आफ्नो अन्तिम पराजय गत सेप्टेम्बरमा मात्र भोगेको थियो । तर त्यसपछिका खेलहरुमा पनि जर्मनी खासै राम्रो खेल्न सकेको होइन । जित दर्ता गरिरहे पनि जर्मनीको खेल खस्किँदै गइरहेको थियो । धेरै उदयीमान युवा खेलाडीहरुले टीममा प्रवेश पाए पनि जर्मनी ओरालो लाग्दै गयो । 

स्पेनविरुद्ध उत्रिन सेभिया पुग्दा, जर्मनीको रक्षात्मक तथ्याङ्क बलियो थिएन । म्यानुयल नोयरको नेतृत्वमा रहेको जर्मन रक्षापंतिले गत नोभेम्बरदेखि यताका खेलहरुमा एउटामा मात्र क्लिनसिट राख्‍न सफल रहेको थियो । बारम्बार कमजोर देखिएको जर्मन रक्षापंतिलाई स्पेनका आक्रमक खेलाडीहरुले सजिलै भताभुङ्ग बनाइदिए ।  

हो, ६ वर्षको अन्तरालमा लोले जर्मनीको राष्ट्रिय टीमलाई धेरै सफलता दिलाएका छन् । तर फुटबलमा निरन्तर सफल हुन सकिँदैन । हङगेरीका महान खलाडी तथा प्रशिक्षक बेला गुटमनले कुनै पनि टीमको प्रशिक्षक तेस्रो वर्षपछि समस्यामा फस्दै जान्छन् भनेर त्यसै भनेका होइनन् । सायद खेलाडीहरु एउटै प्रशिक्षकसँग धेरै वर्ष खेल्न चाहँदैनन् । अथवा, उनीहरु प्रशिक्षकले अभ्या अनि खेलमा अपनाउने एउटै तरिकादेखि दिक्क मान्न थाल्छन् ।
   
कसैले यस्तो तर्क क्लब फुटबलका लागि मात्र योग्छ भन्न सक्छन् । तर यसो भनिरहँदा लो जर्मन राष्ट्रिय टोलीको १६ वर्षदेखि निरन्तर प्रशिक्षकका रुपमा सक्रिय छन् भन्ने तथ्य बिर्सन हुँदैन । त्यसकारण पनि जर्मनी परिवर्तनका लागि तयार हुनुपर्ने अवस्था आएको हुनसक्छ । अनि मंगलबारको खेल हेर्ने जो सुकैले पनि प्रशिक्षक किन परिवर्तन नगर्ने भन्ने प्रश्नको उत्तर दिन सक्ने छैनन् । (गोल डटकमबाट) 


Author

थप समाचार
x