खेलकुद

१३ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने मकवानपुरे खेलाडीको बिदाई

इकागज |
बैशाख २, २०८० शनिबार १६:६ बजे

मकवानपुर- १३ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने मकवानपुरे खेलाडीको शनिबार बिदाई गरिएको छ । काठमाडौँमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन विभिन्न ६ खेलमा आबद्ध खेलाडी तथा अफिसियल टोलीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिदाई गरेका हुन् ।

काठमाडौँमा हुने १३ औं राष्ट्रपति कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, उसुका प्रशिक्षक, म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाई गरिएको छ । जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका उनीहरूलाई सफलताको शुभकामनासहित बिदाई गरिएको छ ।


जिल्ला खेलकुद विकास समिति मकवानपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लालाई बढी पदक ल्याउने गरी खेल्न तथा जिल्लाको नाम राख्ने गरी मैदानमा उत्रन खेलाडीहरूलाई आग्रह गर्दै सफलताको शुभकामना दिइन् । उपप्रमुख बानियाँले जिल्लाको नामलाई अब्बल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए ।

प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समितिले ६४ जना खेलाडीलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गत वर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x